अदालत

विद्यालयका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
असोज १५, २०८१ मंगलबार २०:११ बजे

फाइल फाेटाे

काठमाडौँ - सप्तरीको शंकर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक (प्रअ)सहित तीनजनाविरुद्ध भौतिक संरचना निर्माण, छात्रवृत्ति रकम र पाठ्यपुस्तक खरिदमा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शंकर माध्यमिक विद्यालय बरमझिया, सप्तरीका प्रधानाध्यापक दिलिपकुमार गुप्ता, शिक्षक हृदयराम चौधरी र विद्यालयका कर्मचारी श्रवण कुमार चौधरीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


अख्तियारका अनुसार प्रअ गुप्ताविरुद्ध ६ लाख ४९ हजार ९१६ रुपैया बिगो कायम गरी बिगो बमोजिम जरिवाना र हिनामिना भएको बिगो बमोजिमको रकम निजबाट असुलउपर गर्नुपर्ने मागदाबी गरिएको छ ।

त्यस्तै शिक्षक हृदयराम चौधरीविरुद्ध ६२ हजार ५८३ रुपैयाँ र कर्मचारी श्रवणकुमार चौधरीविरुद्ध ५ लाख ८७ हजार ३३३ रुपैया बिगो कायम गरी मुद्दामा दायर भएको हो ।

अनुसन्धानका क्रममा शौचालय निर्माणमा ६२ हजार ५८३ रुपैयाँ, छात्रवृत्ति रकममा ३ लाख १० हजार ४ सय रुपैयाँ, पाठ्यपुस्तक खरिदका लागि विनियोजित बजेटमा १ लाख २६ हजार २४७ रुपैयाँ र राहत शिक्षकको तलब भत्तामा १ लाख ५० हजार ६६८ रुपैयाँ हिनामिना गरेको पुष्टि भएपछि हिनामिना भएको रकमलाई बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जानकारी दिएको छ ।


 


Author

थप समाचार
x