अदालत

दुई वर्ष नाघेका मुद्दा शून्य

उच्च अदालत विराटनगरका मुख्य न्‍यायाधीशद्वारा एक वर्षमा एक्लै सात सय मुद्दा फर्स्यौट

बाबुराम भण्डारी |
भदौ ११, २०७८ शुक्रबार १०:१८ बजे

विराटनगर – उच्च अदालतका विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले सवैभन्दा धेरै एक्लै सात सय बढी मुद्दा फर्स्यौट गरेका छन् । मुख्य न्यायाधीश श्रेष्ठको इजालासबाट आर्थिक वर्ष २०७७/७८ मा ७०३ वटा मुद्दा फर्स्यौट भएको उच्च अदालत विराटनगरले जनाएको छ । श्रेष्ठले उच्च अदालत विराटनगरमा दुई वर्ष अवधि नाघेका मुद्दाको संख्यालाई समेत शून्यमा झारेका छन् ।

उच्च अदालत विराटनगरमा दुई वर्ष नाघेका १ सय ३३ मुद्दाहरू रहेकोमा सबै मुद्दाको फैसलागरी शून्यमा झारिएको मुख्य न्‍यायाधीश श्रेष्ठले जानकारी दिए । विराटनगरले आर्थिक वर्ष ०७७/०७८ मा कूल मुद्दाको ५८ प्रतिशत मुद्दा छिन्न सफल भएको छ । अघिल्ला आवहरूबाट जिम्मेवारी सरेर आएका १ हजार ६ सय ७० वटा मुद्दासहित कूल ३ हजार ६ सय ६१ वटा मुद्दा मध्ये आव २०७७/७८ मा २ हजार १ सय ८ वटा मुद्दा फर्स्यौट भएको उनले बताए । एक वर्षभित्र फर्स्यौट भएकामध्ये एक वर्षभित्र दायर भएका मुद्दाको संख्या ५४ प्रतिशत रहेको जनाइएको छ । 


अदालतको कामकारबाही सुधारका लागि निकै सक्रिय रहेका मुख्य न्‍यायाधीश श्रेष्ठले सहज, पारदर्शी र चाँडो मुद्दा छिन्ने कार्यलाई प्राथमिकतामा राख्दै आएको बताए। सेवाग्राहीलाई सकेसम्म चाँडो न्याय दिने उदेश्यले मुद्दा फर्स्यौटमा केन्द्रित भएको मुख्य उनको भनाइ छ ।

उच्च अदालतमा निःशुल्क कानुनी सहायता कक्ष स्थापना, पीडितहरूलाई क्षतिपूर्ति भराउने काममा तदारूकता, न्यायमा पहुँच अभिवृद्धि, कर्मचारीहरूलाई प्रशिक्षण, सांकेतिक भाषा र देभाषेहरूको समेत व्यवस्था गरेको जनाइएको छ । त्यसका साथै झगडियाहरूले घरमै बसेर तारेख लिन पाउने, फैसलाहरूको घरबाटै विद्युतीय जानकारी लिने तथा विद्युतीय टोकनको समेत व्यवस्था गरिएको उच्च अदालतको दाबी छ ।

उच्च अदालत पाटनका न्यायाधीश कुलप्रसाद शर्माले ६५४ मुद्दा फर्स्यौट गरेर दोस्रो धेरै मुद्दा फर्स्यौट गर्ने न्यायाधीश बनेका छन् । धेरै मुद्दा फर्स्यौट गर्नेमा पाटनकै न्यायाधीश महेश शर्मा पौडेल ६५३, माधव प्रसाद पोखरेल ६३५, किरण पौडेल ६२८, नरिश्वर भण्डारी ५३५ र खुसी प्रसाद थारु ५२५ रहेका छन् ।

उच्च अदालत बुटवलका न्यायाधीश निलम पौडेलले ५८६ र उच्च अदालत राजविराजका न्यायाशीध डिल्लीराज आचार्यले ५४२ वटा मुद्दा फर्स्यौट गरेको जनाइएको छ । उच्च अदालत विराटनगरकै अर्का न्‍यायाधीश मिलनकुमार राईले ५३८ र तेजनारायण सिंह राईले ५०४ वटा मुद्दा फर्स्यौट गरेका छन् । 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x