अदालत

प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा सहभागी हुन कानुन व्यवसायीलाई बारको आह्वान

इकागज |
कात्तिक २१, २०७८ आइतबार १७:२६ बजे

फाइल तस्‍बिर

काठमाडौं - नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्‍दोलनलाई निरन्तरता दिने भएको छ । सोमबारदेखि सर्वाेच्च अदालत केन्द्रित कालो पट्टीसहितको विरोध कार्यक्रमलाई निरन्तरता दिने बारले जनाएको छ । काठमाडौं उपत्यकामा रहेका कानुन व्यवसायीलाई सोमबार कालो पट्टीसहितको विरोध कार्यक्रममा सहभागी हुन बारले आह्वानसमेत गरेको छ ।  

‘प्रधानन्यायाधीशज्यूको राजीनामा माग गर्दै गत कात्तिक १४, १५, १६ र १७ गतेको सर्वोच्च अदालत केन्द्रित कालो पट्टीसहितको विरोध कार्यक्रमहरू सम्पन्न भएका छन् । २२ गतेदेखि पुनः आन्दोलनलाई निरन्तरता दिइने भएकोले काठमाडौं उपत्यकामा रहनु भएका सम्पूर्ण कानुन व्यवसायीज्यूहरूलाई बिहान १०ः३० बजे नेबाएमा उपस्थित भई न्यायपालिकाको शुद्धीकरण गर्ने नेबाएको अभियानमा एक घण्टा कालो पट्टीसहितको विरोध कार्यक्रममा सरिक भईदिनुहुन हार्दिक आह्वाान गर्दछौँ’, आइतबार महासचिव लीलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 


देशभरिका बार एकाईका अध्यक्ष, सचिवज्यूहरूसँग राय, परामर्श कार्यक्रम जारी नै रहेकोले थप विरोधका कार्यक्रमपछि प्रकाशित गरिने बताइएको छ । जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेका छन् । न्यायाधीशहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दबाब दिइरहेका छन् ।

बार एसोसिएसनले आगामी रणनीति तय गर्न आज देशभरका बार इकाइसँग छलफल गरेको थियो । तिहारलगत्तै जबराविरुद्ध निर्णायक आन्दोलनको घोषणा गरेको नेपाल बारले देशभरका ८३ वटै नेपाल बारका एकाइसँग भावी आन्दोलनको स्वरुप तय गर्न भर्चुअल बैठक गरेको हो । बैठक भोलि पनि बस्‍नेछ ।

 

 


Author

थप समाचार
x