अदालत

प्रधानन्यायाधीशकाे राजीनामा माग्दै सोमबार पनि बारको विरोध प्रदर्शन

इकागज |
कात्तिक २२, २०७८ सोमबार १३:१९ बजे

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले सोमबार पनि विरोध प्रदर्शन गरेको छ । 

कालो पट्टी र कालो ब्यानरमा कानून व्यवसायीहरुले नेपाल बार भवनमा विरोध प्रदर्शन गरेका हुन् । यसअघि बारले राजीनामा दिन प्रधानन्यायाधीश राणालाई ५ दिनको अल्टिमेटम दिएको थियो । राजीनामा नआएपछि बारले आन्दोलनलाई अझ कडा पार्ने जनाएको छ । प्रधानन्यायाधीश राणाले न्यायलयलाई ध्वस्त पार्ने काम गरेकाले राजीनामा दिनुपर्ने बारको भनाई छ ।


विरोध प्रदर्शनमा बार एसोसिएसनका उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराईले विसंगति र विकृतिको कारण प्रधानन्यायाधीश मात्रै नभएपनि प्रधानन्यायाधीश मुख्य जिम्मेवार व्यक्ति भने भएको बताए । बारले न्यायलय सुधारका लागि प्रारम्भदेखि नै उठाएका धेरै बिषयमा पटक पटक ध्यानाकर्षण गराएपनि प्रधानन्याधीशबाट कुनै सुनुवाई नै नभएको उनले बताए । 

त्यस्तै  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका कारण न्यायपालिका संकटमा परेको आरोप लगाए । प्रधानन्यायाधीशको गैर न्यायिक आचरणले गर्दा आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको उनको भनाई छ ।

बारले आइतबार देशभरका बार इकाइँसग छलफल गरेको थियो । उक्त छलफलपछि आन्दोलनमा सहभागी हुुन सम्पूर्ण कानून व्यवसायीलाई आह्वान गरिएको थियो । यस्तै बारले ९ बुँदे मागपत्र अघि सार्दै प्रधानन्यायधीशले राजीनामा नदिए निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ । तीन वर्ष न्यायपालिकाको नेतृत्व गर्दा पनि सार्वजनिक रुपमा व्यक्त प्रतिबद्धता कार्यान्वयन नगरेको आरोप बारले लगाएको छ ।


Author

थप समाचार
x