अदालत

बारलाई चुनौती दिँदै प्रधानन्यायाधीशले तोके आफूसहित ९ इजलास

इकागज |
कात्तिक २५, २०७८ बिहीबार १०:४७ बजे

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सोमबारका लागि ९ वटा इजलास गठन गरेका छन् । नेपाल बार एसोसिएसनले न्यायपरिषद्‌का सदस्यलाई पत्र लेख्दै प्रधाननन्यायाधीश राणाले बोलाएको बैठकमा नजान आग्रह गरे पनि ९ वटा इजलास गठन गरेका हुन् ।

न्यायाधीश दीपकुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासमा २६, मीरा खडका र तेजबहादुर केसीकोमा २८, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाकोमा ३४, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीकोमा २६ मुद्दाको पेसी तोकेका छन् ।


त्यस्तै विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा २, वमकुमार श्रेष्ठ र कुमार रेग्मीकोमा २७, प्रकाशकुमार ढुंगाना र कुमार चुडालको इजलासमा २४ र नहकुल सुवेदीको एकल इजलासमा ४ वटा मुद्दाको पेसी तोकेका छन् ।

जबरजस्ती करणी, ठगी, लागूऔषध खैरो हिरोइन, डाका, कर्तव्य ज्यान, चोरी शिकारी, मानव बेचबिखन तथा ओसारपसार र अपहरण तथा शरीर बन्धक, वैदेशिक रोजगार, भ्रष्टाचारलगायतका मुद्दाको पेसी तोकिएको छ ।

जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै नेपाल बार एसोसिएशनले आन्दोलन गरिरहेको छ । जबराको राजीनामाको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको बारले आज सर्वोच्च अदालतसहित काठमाडौँ उपत्यकामा रहेका विशेष, उच्च र जिल्ला अदालतसँगै न्यायाधिकरणमा पनि धर्ना दिँदैछ । 

बारले यसअघि सर्वोच्च अदालत परिसरमा प्रदर्शन र धर्ना दिँदै आएको छ । प्रधानन्यायाधीशको आचरणलाई लिएर सर्वोच्चकै न्यायाधीश पनि राजीनामा माग गरिरहेका छन् । कानुन व्यवसायीले आज ‘बन्दी प्रत्यक्षीकरण’ बाहेकका निवेदनमा सुनुवाइ नगर्न माग गरेका छन् ।
 


Author

थप समाचार
x