अदालत

न्यायाधीशहरूमा त्रासको वातावरण सिर्जना भएको छ : कार्की

लक्ष्मी भण्डारी |
माघ २१, २०७७ बुधबार ११:५८ बजे

सुर्खेत : सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीशमा त्रासको वातावरण सिर्जना भएको बताएका छन् ।  मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै न्यायाधीश कार्कीले यसले न्यायमा प्रभाव पार्ने बताए । ‘न्याय दिने भनेको पक्ष विपक्षका मिसिल र प्रमाणका आधारमा हो’ कार्कीले भने, ‘तर, यसमा रिर्पाेटिङ एउटा र डकुमेन्ट फरक आउँदा न्याय सम्पादनमा समस्या हुने गर्दछ ।’ कार्कीले गलत अभियोजनले मुद्दा दर्ता हुँदा वास्तविक पीडितले न्याय पाउन नसकेको औल्याए । 

कतिपय अवस्थामा अदालतमा मुद्दा आउँदा त्यही विषयमा जुलुस प्रदर्शन हुन्छ, ‘उनले भने, ‘यो अवस्थामा न्याय सम्पादन गर्न न्यायधीशलाई समस्या हुन्छ ।’ कार्कीले न्यायधीशहरू आफ्नै बारेमा गलत समाचार आउने हो कि भन्ने त्रासको रहेको समेत बताए । 


‘कुनै पनि घटनामा न्याय दिलाउन त्यही ठाउँमा सचेत गराउनुपर्छ’ उनी भन्छन्, ‘यस्ता घटनाको अनुसन्धान गर्ने क्रममा नै सचेत हुनुपर्छ ।’ छिटो छरितो न्याय प्रवाहको लागि क्यालेण्डर सिस्टम लागु गर्ने तयारीमा रहेको उनको भनाइ थियो । 

यसमा मुद्दाका प्रकृतिअनुसार  फैसला अघि बढाउनेगरी योजना बनाएको उनको भनाइ थियो । ‘दोषी उम्कन पाउँदैन र निर्दाेशले न्याय पनि पाउँछ ’ उनले भने, ‘यसरी छिटो छरितो न्याय दिलाउनेगरी काम अघि बढाउँछौ ।’
 


Author

थप समाचार
x