अदालत

दाहाललाई लिखित जवाफसहित आफैँ उपस्थित हुन सर्वाेच्चको आदेश

इकागज |
माघ २१, २०७७ बुधबार १६:५५ बजे

फाइल तस्बिर

काठमाडौँ  :  सर्वाेच्च अदालतले अदालतको अवहेलनाको मुद्दामा नेकपाको दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई लिखित जवाफसहित आफैँ उपस्थित हुन अदालतले आदेश दिएको छ । न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्याद बाहेक एक हप्ताभित्र अदालतमा आफैँ हुन आदेश दिएको हो ।

 दाहालविरुद्ध अधिवक्ता समिर हायूले दाहालले गत शुक्रबार विराटनगरमा भएको सभामा सर्वाेच्चले प्रतिनिधि सभा विघटन पुनःस्थापना नगरे सभामुखमार्फत बैठक बोलाउने चेतावनी दिएर अदालतको अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए । दाहालले अदालतप्रति भरोसा भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले सेटिङ गरेको आरोप पनि लगाउँदै आएका छन् ।  


‘यसमा के कसो भएको हो ? माग बमोजिम अवहेलनामा कारबाही किन हुन नपर्ने हो ? म्याद प्राप्त भएको मितिले बाटाका म्याद बाहेक ७ (सात) दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्नुहोला भनी विपक्षीका नाउँबाट आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी म्याद जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा अवधि नाघेपछि पेश गर्नू’ न्यायाधीश शर्माको आदेश पत्रमा भनिएको छ ।

 


Author

थप समाचार
x