चार पूर्वप्रधान न्यायाधीशलाई फागुन ६ गते तारिख तोकियो
‘अपहेलना गरेको छु भन्ने कुनै मनभित्रै थिएन’
काठमाडौं : सर्वाेच्च अदालतका चार पूर्वप्रधान न्यायाधीशलाई ‘अपहेलना मुद्दा’मा फागुन ६ गतेका निम्ति तारिख तोकिएको छ । चार पूर्वप्रधानन्यायाधीश मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की सर्वाेच्च अदालतमा लिखित जवाफ पेश गरेपछि म्याद बुझ्न रजिष्ट्रार नारायण पन्थीको कार्यकक्षमा गएका थिए ।
उनीहरुले अपहेलना मुद्दाको बहस–पैरवी गर्न कानुन व्यवसायी नियुुक्तका गर्नुका अतिरिक्त वारेशको पनि माग गरेका छन् । ‘हामीले वारेशको माग गरेका छौं, के हुन्छ हेरौं ?’ पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले इकागजसँग भनिन्, ‘हामीले आजै म्याद बुझ्यौँ र आजै दर्ता गर्यौँ । हामीले अपहेलना गरेको होइन र छैन पनि । आखिर मुद्दा चलाइयो । जे हुन्छ । त्यो बेहोर्न तयार छौँ।’
अदालतमा जवाफ बुझाएपछि सात दिनको म्याद हुन्छ । तर, पूर्वप्रधान न्यायाधीशहरुले त्यो सात दिन प्रतीक्षा गरेनन् । लिखित जवाफ बुझाएपछि पूर्व प्रधानन्यायाधीश कार्कीले आफूलाई कुनै फरक या अप्ठ्यारो महसूस नभएको प्रतिक्रिया दिइन् । ‘मनमा म अवकाश प्राप्त प्रधान न्यायाधीश हुँ भन्ने रहिरह्यो’ कार्कीले भनिन्, ‘म एक्लै भएको भए कस्तो लाग्थ्यो, थाहा छैन । तर, चार जना भएको हुँदा मनमा कुनै पनि अप्ठ्यारो महसूस भएन ।’
पूर्व प्रधान न्यायाधीशहरुले जवाफमा अपहेलना मुद्दा प्रथम दृष्टिमै खारेज भागी जिकीर लिएका छन् । ‘अर्काे केही महसूस नहुनुको पनि कारण छ, किनभने हाम्रो विज्ञप्तिमा अदालतको अपहेलना गर्ने गरी कुनै काम, कुनै शब्द वा कुनै लाइनमा पनि अपहेलनाका शब्द छैनन्’ कार्कीले भनिन्, ‘त्यसैले हामीलाई के महसूस भयो भने जब अपहेलना नै गरेको छैनौं भने अप्ठ्यारो हुने कुरै भएन । हामीलाई त्यत्तिकै मुद्दा चलाइएको हो । त्यसमा अपहेलना गरेको छु भन्ने कुनै मनभित्रै केही थिएन ।’
यसअघि समाचारको शीर्षकमा फागुन ६ गतेका निम्ति तारिख तोकिएको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।*
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया