अदालत

न्यायाधीश नियुक्ति विवाद

मुख्य रजिस्ट्रारले न्यायाधीश पद अस्वीकार गर्ने, तीन दिनदेखि ‘मूड अफ’मा कुँवर

इकागज |
फागुन २९, २०७८ आइतबार १८:५३ बजे

काठमाडौँ– सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर तीन दिनदेखि ‘मूड अफ’मा छन् । न्याय परिषद्ले तीनअघि ‘सुटुक्क’ उच्च अदालत पाटनको न्यायाधीशमा नियुक्त गरेपछि कुँवर ‘अपमानित’ भएको महसूस गर्दैछन् । यद्यपि कुँवर नियमित रूपमा सर्वाेच्च अदालतमा आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् ।

कुँवरले कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र सहकर्मीहरुसँग आफूले उक्त पद स्वीकार नगर्ने जानकारी गराइसकेका छन् । ‘मेरो पदीय हैसियत मुख्य न्यायधीश सरह हो, मुख्य न्यायाधीशमा नियुक्त भए जान सक्छु । तर न्यायाधीशमा जान्न’ कुँवरको भनाइ उद्धृत गर्दै सर्वाेच्च अदालतका एक उच्च अधिकारीले इकागजसँग भने, ‘उहाँले आफूलाई दुई तह तल ओर्लेर नियुक्त गरेको ठान्नु भएको छ र नियुक्तिअघि सामान्य परामर्श समेत नहुँदा यस्तो अवस्था आएको हो ।’


उक्त नियुक्तिको निर्णयमा टिप्पणी उठ्दै प्रधानन्यायाधीशबाट सदर हुन बाँकी छ । ‘नियुक्ति घोषणा गरी सपथ नलिएसम्म उहाँ नजान पनि सक्नुहुन्छ’ ती अधिकारीले भने, ‘विगतमा पनि नियुक्तिको सिफारिशपछि ‘अस्वीकार’ गरेको घटना छन् । उहाँले जान्न भन्न पाउनुहुन्छ ।’

नियुक्तिपूर्व कुँवरसँग कुनै छलफल पनि गरिएको थिएन । यद्यपि न्याय परिषद्को सिफारिशपछि नियुक्तिको निर्णय भने भइसकेको छैन । कुँवरको मुख्य रजिष्ट्रारको पदावधि अझै दुई वर्ष बाँकी छ ।

खासमा मुख्य रजिष्टारको हैसियत मुख्य न्यायाधीश सरह मानिन्छ । यसअघि मुख्य रजिष्ट्रारलाई पनि मुख्य न्यायाधीशकै जिम्मेवारीमा लगिएको थियो । तर, पदीय हैसियत तल पार्दै नियुक्त गरेपछि कुँवर असन्तुष्ट बन्न पुगेका हुन् ।

न्याय परिषद्ले यही फागुन २६ मा सर्वाेच्च अदालतको न्यायाधीश निम्ति विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई सर्वाेच्च अदालतको न्यायाधीशमा र कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीशमा नियुक्तिको सिफारिश गरेको थियो ।
 


Author

थप समाचार
x