अदालत

सवारी लाइसेन्स परीक्षा फेल भएकालाई पास गर्ने यातायात कार्यालयका ९ जनाविरुद्ध मुद्दा

इकागज |
चैत ४, २०७८ शुक्रबार १४:५५ बजे

काठमाडौं - सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा फेल भएकालाई पास गराएको अभियोगमा यातायात  व्यवस्था कार्यालय, पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ।

फेल तथा अनुपस्थित रहेका परीक्षार्थीहरुलाई पास र पास भएका परीक्षार्थीहरु फेल गरी गराई परीक्षाको परिणाम फेरबदल गरिएको अभियाेगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।


निमित्त कार्यालय प्रमुख पौडेल, मोहनमणि सुवेदी, हरिप्रसाद गौतम, भरतराज काफ्ले, प्रेम प्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, झलक पौडेल र भरतमणि बराल विरुद्ध मुद्दा दायर गरिएको हो। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर भएकोले सोही दफा बमोजिमको अधिकतम सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको हाे।

पोखरामा  मिति २०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा सञ्चालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामध्येबाट विभिन्न मितिमा संचालन भएको विभिन्न वर्गका सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित परीक्षार्थीहरुलाई उत्तीर्ण  गर्ने र उत्तीर्ण भएका परीक्षार्थीहरुलाई अनुत्तीर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरिएको अख्तियारको अनुसन्धानमा उल्लेख छ।  

आयोगका सहायक प्रवकता वेदप्रसाद भण्डरीले तत्कालीन निमित्त कार्यालय प्रमुख रहेका पौडेलले संलग्न कर्मचारीहरुलाई कुनै प्रकारको विभागीय कारवाही गरेको नदेखिएले उनकाे पनि मिलेमतो रहेको आशंका गरिएको बताए  ।


Author

थप समाचार
x