अदालत

नेपाल बार एसोसिएसन निर्वाचन

भ्रष्ट्राचाररहित न्यायालय र संविधानको रक्षा मूल एजेण्डाः वरिष्ठ अधिवक्ता घिमिरे

इकागज |
चैत ७, २०७८ सोमबार १६:७ बजे

विराटनगर - आसन्न नेपाल बार एसोसिएसनको निर्वाचनमा अध्यक्षका प्रत्याशी बरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले स्वतन्त्र र सक्षम न्यायलय, मर्यादित बार, संविधानको रक्षा र कार्यान्वयन नेपाल बार एसोसिएसनको प्रमुख दायित्व भएको दावी गरेका छन् । उनले आगामी निर्वाचनमा आफू र आफ्नो समूह निर्वाचित भएमा यसको लागि अविचलित भई कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रदेश नं. १ लक्षित चुनावी प्रचार प्रसार अभियानको अन्तिम दिन मोरड जिल्ला अदालत बार एसोसिएसनको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता घिमिरेले लोकतन्त्र, बहुदलीय व्यवस्था र स्वतन्त्र न्यायपालिका नेपाल बार एसोसिएसनको शुरु देखि नै एजेन्डा भएको बताउँदै उक्त एजेण्डाबाट पछि नहट्ने बताए ।यसपालि बारको निर्वाचनमा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए नेपाल), समाजवादी प्रगतिशील लर्यस एसोसिएसन (एसपीएलए), क्रान्तिकारी तथा प्रगतिशिल लयर्स एसोसिएसन (आरपीएलए) र संघीय लर्यस एसोसिएसन (एफएलए) ले वरिष्ठ अधिवक्ता घिमिरेको नाममा सामूहिक रुपमा उम्मेदवारी दिएको छ ।


बारको वर्तमान सांगठिनिक संरचनामा सुधार गर्दै  प्रदेश संरचनालाई विस्तार गर्ने र इकाई बारहरुलाई थप सुदृढ बनाउन आफ्नो समूह प्रतिबद्ध रहेको घिमिरेको भनाइ थियो । कानुन व्यवसायको पेसामा यदाकदा देखिएका कालो दाग हटाउनको लागि जस्तो सुकै निर्णय लिन आफू तयार रहेको दावी गर्दै उनले कानुन व्यवसायको मर्यादा, अग्रज कानुन व्यवसायीको सम्मान तथा कानुनी पेसाकै शुद्धीकरणको लागि आवश्यक कार्य गर्न पहल गर्ने बताए ।

उनले बारमा प्रवेश गर्दा आफूहरु सामूहिक तथा उत्तरदायी भावनाले प्रवेश गर्ने भएकोले आफ्नो समूह निर्वाचित भएको अवस्थामा समूहका कुनै पनि सदस्य आफ्नो कार्यकालभित्र राजनीतिक नियुक्ति तथा सुविधामा नजाने वाचा पनि गरे । कार्यक्रममा प्रदेश नं. १ का उपाध्यक्षका उम्मेदवार अधिवक्ता सुरज खत्रीले आफूले निर्वाचित भएमा प्रदेश नं. १ को कानुन व्यवसायी, बार तथा न्यायपालिकाको हितमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उक्त समूहमा प्रदेश नं. १ को उपाध्यक्षमा खत्री, मधेश प्रदेशको उपाध्यक्षमा सुधिर कुमार कर्ण, बाग्मती प्रदेश उपाध्यक्षमा हर्क बहादुर रावल, गण्डकी प्रदेश उपाध्यक्षमा वीरेन्द्र के.सी., लुम्बिनी प्रदेश उपाध्यक्षमा पशुपति भण्डारी, कर्णाली प्रदेश उपाध्यक्षमा उत्तमप्रसाद आचार्य, सुदूरपश्चिम प्रदेश उपाध्यक्ष तुलाराम गिरी र महिला उपाध्यक्षमा आशा राई छन् ।

यसैगरी उक्त समूहबाट महासचिवमा अन्जिता खनाल तथा कोषाध्यक्षमा भरतबहादुर राउतको उम्मेदवारी रहेको छ । विनिता नेपाली (सदस्य, दलित), किरणकुमारी साह (सदस्य, मधेशी÷मुश्लिम,उपत्यका बाहिर), नरेशकुमार साह (सदस्य, मधेशी/मुश्लिम, खुल्ला), नारायण दास राई (सदस्य, आदिवासी/जनजाति उपत्यका बाहिर), रुपबहादुर सारु (सदस्य, आदिवासी÷जनजाति, खुल्ला),  सीता पौड्याल सदस्य, महिला, उपत्यका बाहिर,  शर्मिला थापा बिष्ट सदस्य, महिला, खुल्ला, जितेन्द्र बहादुर मडै सदस्य, उपत्यका बाहिर रहने गरी केन्द्रीय सदस्यका उम्मेदवार  रहेका छन् । 

त्यस्तै भरत कुमार लकाई,  देवी प्रसाद कोईराला, निर्भयराज पौडेल, सन्तोष कुमार राउत, गुणराज आचार्य र अधिवक्ता सन्तोष तिवारी, खुल्ला तर्फका केन्द्रीय सदस्य रहेका छन् । 

प्रदेश नं १ को उम्मेदवार परिचयात्मक तथा भेटघाट कार्यक्रममा उक्त समुहले झापा जिल्ला अदालत बार ऐसोसिएसन, सुनसरी जिल्ला अदालत बार एसोसिएसन, मोरङ जिल्ला अदालत बार एसोसिएसन तथा धरान कानुन व्यवसायी क्लबमा विविध कार्यक्रम राखेको थियो । प्रदेश नं. १ को कार्यक्रम पश्चात उक्त समूह आजै (चैत ७ गते) मधेश प्रदेश प्रवेश गरेको छ । 
 


Author

थप समाचार
x