कोभिड-१९

कोभिडबाट बच्‍न मातृभूमि फर्किए, भरपर्दो उपचार नहुँदा बाँचेनन्

नवराज पनेरु |
बैशाख १२, २०७८ आइतबार १२:५५ बजे

धनगढी : एक हप्ता अगाडि भारतको इन्दौरबाट आफ्नो घर कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ फर्किएका ४० वर्षीय पुरुष स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार महाकाली अस्पताल भर्ना भए । शुक्रबार उनमा कोभिड-१९ संक्रमण पुष्टि भयो र अवस्था विग्रिदै गएपछि आइसीयूमा राखेर उपचार गर्न थालियो । अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले शनिबार ती पुरुषको मृत्यु भएको बताउँदै भने, ‘फोक्सोमा समस्या तथा अक्सिजनको मात्रा घटेका कारण ती पुरुषलाई जोगाउन सकिएन् ।’ 

शनिबार नै कञ्‍चनपुरको भीमदत्त नगरपालिका-४ की ५० वर्षीया महिलाको पनि कोभिड संक्रमणबाट मृत्यु भयो । भारतमा दोस्रो लहरको कोरोनाले त्रास फैलाएपछि ज्यान बचाउन घर फर्किएकी ती महिलाको कोरोनाकै कारण स्वदेशमै ज्यान गएको हो । संक्रमित महिलालाई बिहीबार उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याएकोमा शुक्रबार कोभिड पुष्टि भएको थियो ।
 
भारतबाटै फर्किएका बझाङको जयपृथ्वी नगरपालिका-६ का ४८ वर्षीय कोभिड-१९ संक्रमित पुरुष बिहीबारसम्म जिल्ला अस्पतालमा उपचाररत थिए । भारतको तमिलनाडुबाट चैत २९ गते घर फर्किएका ती व्यक्तिको अक्सिजन सपोर्टमा राखेर उपचार भइरहेको थियो । तर स्वास्थ्यमा समस्या बढेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने देखियो । जिल्ला अस्पतालमा दुई थान भेन्टिलेटर पनि थियो । 


तर चलाउने जनशक्ति नहुँदा बिरामीलाई कोहलपुर रेफर गरियो । स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीका अनुसार ती पुरुषको कोहलपुर पुग्न नपाउँदै बाटोमै मृत्यु भएको छ । काभिड कहरबाट जोगिन भारतबाट मातृभूमी पुगेका ती पुरुषले पनि कोभिडकै कारण ज्यान गुमाउनु परेको थियो । दुई साताअघि भारतको गुजरातबाट अछाम फर्किएका साँफेबगर नगरपालिका-६ का ६५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । बुधबार बयालपाटा अस्पतालमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो भने बिहिबार मृत्यु भयो ।
  
कोभिडको दोस्रो लहरले छिमेकी मुलुक भारतमा त्रास फैलाएपछि अहिले नेपालीहरू धमाधम स्वदेश फर्किरहेका छन् । तर उनीहरूका लागि मातृभूमी पनि सुरक्षित छैन् । नाकामा फितलो व्यवस्थापन र उपचारको भरपर्दो व्यवस्था नहुँदा स्वदेश फर्किएर पनि नेपालीहरू ज्यान गुमाउन बाध्य भइरहेका छन् । कोरोनाको सुरुवाती अवस्थामा मृत्युपछि संक्रमण पुष्टि हुने समस्या थियो भने अहिले संक्रमण पुष्टि भएका व्यक्तिलाई पनि जोगाउन मुस्किल भइरहेको छ । 

यस्को मुख्य कारण भरपर्दो उपचार नहुनु नै हो भन्छन्, स्वाथ्यकर्मीहरु । यता सुदूरपश्चिम प्रदेश सरकारले पनि गम्भीर प्रकृतीका बिरामीको उपचारका लागि दक्ष जनशक्ति र उपकरण व्यवस्थापन भइरहेको जनाएको छ । दक्ष जनशक्ति नहुँदा भएका आयसीयू र भेन्टिलेटरसमेत थन्काएको सुदूरपश्‍चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने, ‘केन्द्र सरकारलाई प्राविधिक जनशक्ति पठाउन पटक–पटक आग्रह गरे पनि वेवास्ता गरिएको छ । अब प्रदेश सरकारले छोटो समयको तालिम दिएर उपकरण चलाउने योजना बनाएको छ ।’ गम्भीर अवस्थाका संक्रमितको संख्या बढ्न थालेपछि यहाँका अस्पतालहरू भरिभराउ छन् । 
 


Author

थप समाचार
x