कोभिड-१९

‘सुदूरपश्चिमका अस्पतालमा कोभिड संक्रमितलाई राख्ने ठाउँ छैन’

नवराज पनेरु |
बैशाख १२, २०७८ आइतबार १५:४९ बजे

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोभिड १९ संक्रमण दर तीव्र भएपछि अस्पतालहरु संक्रमितले भरिएका छन् । कोभिड-१९ का गम्भीर प्रकृतिका बिरामीको उपचार सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा मात्रै भइरहेकोमा दुवै अस्पताल संक्रमितले भरिएका हुन् । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार अस्पतालमा अहिले ५४ जना संक्रमितको उपचार भइरहेको छ । 

‘तीन जनाको भेन्टिलेटर र ११ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ,’ उनले भने,  ‘२५ जनाको अक्सिजन दिएर उपचार भइरहेको छ भने मध्यम कडा खालका १५ जना संक्रमितलाई मोडरेटमा राखिएको छ ।’ 


गम्भीर प्रकृतिका बिरामी थपिए अस्पतालमा राख्न ठाउँ नभएको उनको भनाइ छ । ‘हामीले कोरोना पुष्टि भएर अवस्था गम्भीर भएका बिरामीलाई मात्र भर्ना गर्छाै,’ उनले भने, ‘सामान्य लक्षण भएका बिरामीलाई घरमै पठाइरहेका छौँ । अब गम्भीर प्रकृतिका कोभिड संक्रमितलाई अस्पतालमा राख्ने ठाउँ छैन् ।’ सेती अस्पतालमा ५५ शैयाको क्षमता छ । 

महाकाली अस्पताल पनि गम्भीर प्रकृतिका कोरोना संक्रमितले भरिएको छ । अस्पतालमा ४८ जना संक्रमितको उपचार भइरहेको बताउँदै सूचना अधिकारी नारद भट्टले भने, ‘६ जनाको आइसीयु र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । १५ जनालाई अक्सिजन सहायतामा राखिएको छ ।’ अस्पतालकै १७ जना स्वास्थ्यकर्मीमा कोभिड १९ संक्रमण देखिएपछि जनशक्तिको समेत चरम अभाव सिर्जना भएको उनले बताए ।

विगतमा स्थानीय तहले सञ्चालन गरेका आइसोलेसन बन्द गरिएपछि प्रदेशका दुई ठूलो अस्पतालमा बिरामीको चाप बढेको हो । प्रदेशमा सबैभन्दा बढी संक्रमण दर बढेको धनगढीमा भने उपमहानगरपालिकाले आइसोलेसन सञ्चालन गरेको छ । 

त्यहाँ पनि ६४ जना संक्रमितलाई राखिएको वडा नम्वर ८ का अध्यक्ष नारायण बरालले जानकारी दिए । यस्तै सेती र महाकाली अस्पतालबाहेक अन्य सात पहाडी जिल्लाका अस्पतालमा पनि गम्भीर प्रकृतिका संक्रमितको उपचारका लागि उपकरण जडान गरिएको छ । 

तर दक्ष जनशक्ति नहुँदा सबै उपकरण प्रयोगमा ल्याउन नसकिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यता प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थान र दक्ष जनशक्ति व्यवस्थापनमा जुटेको जनाएको छ । 

मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने प्रयास गरिएको बताए । उनले बन्द अवस्थामा रहेका उपकरण सञ्चालन गर्नका लागि छोटो समयको तालिम दिएर स्वास्थ्यकर्मी परिचालन गर्ने पनि तयारी भइरहेको बताए ।
 


Author

थप समाचार
x