कोभिड-१९

लुम्बिनीका दुई ठूला मेडिकल कलेजले भने : अक्सिजन आपूर्ति सहज नभए उपचार कठिन

बिक्रम खड्का |
बैशाख २२, २०७८ बुधबार २१:१५ बजे

बुटवल : लुम्बिनी प्रदेशमा कोभिड-१९ संक्रमितको उपचारको ठूलो हिस्सा सम्हालेका भैरहवा र नेपालगञ्‍जका मेडिकल कलेजले अक्सिजनको सहज आपूर्ति गरिदिन अपिल गरेका छन् । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) र बाँकेको नेपालगञ्‍ज मेडिकल कलेजले बिरामीको अत्याधिक चाँपसंगै अक्सिजन व्यवस्थापनमा गम्भीर  समस्या आएको बिहिबार विज्ञप्तिमार्फत बताएका हुन् । उनीहरूले विज्ञप्तिमा सरकारको ध्यानाकर्षण पनि गराएका छन् । 

 दैनिक ८ सय अक्सिजन सिलिण्डर सहज आपूर्तिका लागि सहयोग र समन्वय गरिदिन युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले प्रशासनसँग अनुरोध गरेको छ । बिरामीको चापलाई थेग्‍न अस्पतालले तयारी अवस्थामा रहेको थप ६० वेडको एच.डी.यु. समेत सञ्‍चालन गर्न असमर्थ हुनुपरेकोले सहयोग र समन्वय गरिदिन संघीय, प्रदेश र स्थानीय सरकार, स्थानीय प्रशासन, नागरिक समाज, सञ्चारकर्मीलगायत सबै पक्षसंग कलेजले अपिल गरेको छ । सहज आपूर्ति हुन नसके सञ्‍चालनमा रहेका वेडहरूलाई समेत कटौती गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने युसीएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए ।
 
अस्पतालमा सामान्य अवस्थामा करिब १२५ वटा अक्सिजन सिलिण्डर खपत भइरहेको अवस्थामा हाल आएर कोभिड अन्तर्गतका करिब १ सय वेडको कोभिड आई.सी.यु. र कोभिड एच.डी.यु. मा उपचाररत प्रत्येक जटिल किसिमका बिरामीहरूलाई अनिवार्य रूपमा अक्सिजनको सहयोग आवश्यकता पर्ने उनको भनाइ छ । यसका अतिरिक्त अन्य गम्भीर प्रकृतिका विरामीसमेत उपचाररत रहेको अवस्थामा प्रत्येक दिन अस्पतालमा कम्तिमा पनि ५ सय अक्सिजन सिलिण्डर खपत भइरहेको विज्ञप्तीमा उल्लेख छ । 


उता १३५ बेडको कोरोना वार्ड बनाएर कोरोना संक्रमितको उपचार गराइरहेको बाँकेको नेपालगञ्‍ज मेडिकल कलेज शिक्षण अस्पतालले सरकारले अक्सिजनको व्यवस्था नमिलाइदिए कोभिडका बिरामीको उपचार गर्न नसक्ने जनाएको छ । कोभिड संक्रमण तीव्र रूपमा बढ्दा अक्सिजनको चरम अभाव भएको र भारतबाट अक्सिजन आपुर्ति हुन नसकेका कारण थप संक्रमित भर्ना गर्न नसक्ने अस्पतालले जनाएको छ ।

नेपाल मेडिकल कलेजका प्रबन्ध संचालक डा. सुरेश कुमार कनोडियाले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट आउन नसकेकाले अस्पतालले हाल उपचार गराइरहेका बाहेक थप कोरोनाका बिरामी भर्ना गर्न असमर्थ रहेको बताए ।

शिक्षण अस्पतालले ३ दिन अगाडि आपतकालिन बाहेकका अन्य उपचार बन्द गरेर ३ सय शय्यासम्मको कोभिड अस्पताल संचालन गर्ने घोषणा गरेको थियो । ‘अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क, पीएसए अक्सिजन प्लान्ट तथा अक्सिजन सिलसन्डिरबाट कोभिडका बिरामीको उपचार भइरहेको थियो । सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट आउन नसकेकाले यस शिक्षण अस्पतालले हाल उपचार गराइरहेका बाहेक थप कोरोनाका बिरामी भर्ना गर्न असमर्थ रहेको कुरा दुःखका साथ सार्वजनिक रुपमा सबैलाई जानकारी गराउन चाहन्छौं,’ डा. कनोडियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x