कोभिड-१९

ओमिक्रोन असर : सुदूरपश्चिममाका नाकामा कडाइ

इकागज |
मंसिर १६, २०७८ बिहीबार १५:८ बजे

कैलाली - दक्षिण अफ्रिका लगायतका विभिन्न मुलुकमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकासंगै सुदूरपश्चिम प्रदेशमा ओमिक्रोन भित्रिन नदिन सीमामा उच्च सतर्कता अपनाइएको छ । 

भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्ने भएकाले सीमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए ।


सुदूरपश्चिमका भारतसँग सीमा जोडिएका मुख्य नाका कंचनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बैतडीको झुलाघाट, पुलघाट, दार्चुला लगायत नाकामा उच्च सतर्कता अपनाइएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर अवस्थीले बताए ।

सुदूरपश्चिममा अहिलेसम्म पूर्णरुपमा खोप लगाउने कार्य समेत सम्पन्न नभैसकेका कारण संक्रमण फैलिने खतरा बढेको बताउँदै डाक्टर अवस्थीले ओमिक्रोनको संक्रमण फैलिए नियन्त्रण गर्न थप समस्या हुुने भएकोले सबैलाई पूर्ण खोप लगाउन समेत आग्रह गरे ।

ओमिक्रोन फैलिहाले पनि सघन उपचार कक्ष, भेन्टिलेटर, अक्सिजन प्लान्टलगायत आवश्यक उपकरण जडान भएकाले पहिलाको जस्तो समस्या नहुने स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा हालसम्म ४८ हजार आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट जाँच गर्दा संक्रमण पुष्टि भएकामध्ये ३८ हजार चार र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएकामध्ये नौ हजार ५ सय ९० जना निको भएका छन् भने कोरोना संक्रमणबाट प्रदेश भरिमा हालसम्ममा मृत्यु हुनेको संख्या ६ सय ९ जना पुगेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
 


Author

थप समाचार
x