कोभिड-१९

सुदूरपश्चिमका थप चार जना कोभिड संक्रमितको मृत्यु

नवराज पनेरु |
कात्तिक ५, २०७७ बुधबार १३:१३ बजे

धनगढी : सुदूरपश्चिममा दुई दिनमा चार जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ ।  मंगलबार र सोमबार गरी दुई दिनमा चार जनाको कोभिड संक्रमितको मृत्यु भएको हो । मंगलबार धनगढीका व्यापारी सहित कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । होम आइसोलेसनमै बसिरहेका धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६८ वर्षीय पुरुष र धनगढीकै ६० वर्षीय व्यापारीको मृत्यु भएको हो । असोज २८ गते संक्रमण पुष्टि भएका धनगढी २ का ६८ वर्षीय पुरुषको अवस्था गम्भीर भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनको शव सेती अस्पतालमा राखिएको छ भने ६० वर्षीय व्यापारीको भारतको लखनउमा मृत्यु भएको हो ।

१५ दिन अगाडि सेती अस्पतालमा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको थियो । अवस्था गम्भीर भएपछि उपचारका लागि लखनउ लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । दुई जना धनगढी निवासीको मृत्यु हुँदा दुई जना थप संक्रमितको पनि धनगढीमै मृत्यु भएको छ । उनीहरुमध्ये एक जना कञ्चनपुर र अर्का दार्चुलाका हुन् । धनगढीमा रिर्पोट नेगेटिभ आएपछि भेन्टिलेटरबाट जनरल आईसियूमा सारिएका कोरोना संक्रमितको सोमबार मृत्यु भयो ।


रिपोर्ट नेगेटिभ आएपछि भेन्टिलेटरबाट निकालिएका कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ का ३८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत उनमा असोज २४ गते संक्रमण पुष्टि भएको थियो ।

यस्तै धनगढीमा उपचाररत दार्चुलाका कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । धनगढीमा उपचारका क्रममा दुहुँ गाउँपालिका-२ हिकिलाका ५३ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । चार दिन पहिले ज्वरो संगै श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका क्रममा धनगढीमा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए । योसँगै सुदुरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । 
 


Author

थप समाचार
x