क्रिकेट

एसिया कप नजिक पुगेर फर्किएका कप्तान र प्रशिक्षक के भन्छन् ? (भिडिओसहित)

इकागज |
असार १३, २०७९ सोमबार १२:३५ बजे

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सीमित हुने गरेको नेपाली राष्ट्रिय महिला टोली मलेसियामा सम्पन्न एसीसी महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । एसिया  कपमा स्थान बनाउने खुड्किलो एक कदम मात्र पछि थियो । वर्षा बाधक बनिदियो । अस्मिना कर्माचार्यको ५ विकेटको तारिफयोग्य बलिङ शुभ संकेत भए पनि वर्षा बाधक बन्दा एसिया कप यात्रा टुङ्गियो । 

सम्मुखकै उपाधि गुमाउँदा खेलाडी निराश भए पनि प्रदर्शनमा भने सन्तुष्ट छन् । सोमबार स्वदेश फर्किपछि सञ्चारकर्मीसँग बोल्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले अझै राम्रो गर्न सकिने भन्दै खेलाडीलाई धेरै भन्दा धेरै अभ्यास खेलको खाँचो रहेको बताइन् । 


उपाधि ल्याउने वाचासहित मलेसिया गएको टोलीले अपेक्षा अनुसारको प्रदर्शन गरे पनि वाचा पूरा हुन सकेन । उपाधि ल्याउने लक्ष्य यसपालि पनि धकेलियो । 

बलिङ इनिङमा न्याय भए पनि ब्याटिङ इनिङमा प्रकृतिले नेपाललाई अन्याय गर्‍यो । दुर्भाग्य नेपालको एसिया कप खेल्ने लक्ष्य वर्षाले नै मडारिदियो । नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले जितेको म्याच नखेली आउनुपर्दा दुःख लागेको बताइन्  । 

‘सबै खेलाडीले खेल मैदानमा आ–आफ्नो भूमिका राम्रोसँग निर्वाह गरेकै हो । योजनाअनुसार समग्र टोलीले प्रदर्शन गरेको पनि हो,' उनले भनिन् 'हङकङसँगको हारपछि समीकरण बदलिए पनि युएईमाथि प्रदर्शन हाम्रो लागि राम्रो हो । बलियो युएईलाई सस्तैमा समेटेर खेल्नका लागि तयार भए पनि नखेली आउनुपर्दा दुःख लागेको छ ।’

टोलीमा अहिले केही अनुभवी, राम्रो मिडल अर्डर र केही नयाँ प्रतिभावान खेलाडीसहितको मिश्रित टोली भएको भन्दै कप्तान रुबिना क्षेत्रीले निरन्तरको अभ्यास र धेरै प्रतियोगितामा अवसर भए नेपाली महिला क्रिकेट टोली अगाडि बढ्ने बताइन् । 

‘हामी अहिलेको लयलाई निरन्तरता दिन चाहन्छौं । यो सल्लाह पनि भएको छ । भरसक सबै खेलाडी काठमाडौंमै बसेर अभ्यासलाई निरन्तरता दिने योजना बनाएका छौं,' उनले भनिन्, 'आउँदै गरेको प्रतियोगितालाई मध्यनजर गर्दै योजनावद्ध तरिकाले अगाडि बढ्ने सोच बनाएका छौं । यसका अलावा हामीलाई धेरै भन्दा धेरै प्रतियोगिताको खाँचो छ । युगाण्डा सँगको श्रृंखलाको अनुभवले हाम्रा धेरै कमिकमजोरी सुधार गर्नसक्यौं भने आउँदो दिन नेपाली महिला क्रिकेटका लागि राम्रो हुनेछ । अब धेरै श्रृंखला खेलेर प्रतियोगितामा सहभागी हुन पायौं भने अवस्य राम्रो गर्न सक्छौं ।’

यस्तै जादुमय बलिङ गरेकी अस्मिना कर्माचार्यले पनि भ्रमण राम्रो अनुभव लिने अवसर भएको र आगामी दिनमा अझै राम्रो गर्नका लागि संघले कार्यक्रम राखेर प्राथमिकता दिनुपर्ने बताइन् । 
 
‘राम्रो खेल्दा खेल्दै पनि बाहिरिनु पर्दा दुःख लागेको छ । मेरो व्यक्तिगत करियरमा ५ विकेट निकै महत्वपूर्ण रह्यो,' उनले भनिन्, 'व्यत्तिगत हौसला मिलेको छ ।  खेल गुमाए पनि हाम्रो टोलीले लय पाएको छ । यही लयलाई निरन्तरता दिनसक्यौं भने महिला टोलीले भविष्यमा अझै राम्रो गर्नसक्छ ।’

यता मुख्य प्रशिक्षक जगत टमाटाले मुखमै आएको खेल गुमाउनु परेको भन्दै जिम्मा आफूले लिने बताए । एसीसी र आईसीसीले आयोजना गर्ने यस्ता ठूला प्रतियोगितामा कम्तीमा पनि रिजर्भ डेको आवश्यक पर्ने भए पनि नराखेमा गुनासो गरे। समग्रमा सबै पक्षमा राम्रो प्रदर्शन गर्दागर्दै पनि अपेक्षा अनुसार नतिजा आउन नसक्नु दुर्भाग्य भएको मुख्य प्रशिक्षक जगत टमाटाले बताए ।

‘उपाधि लक्ष्यका साथ हामी मलेसिया गएका थियौं । दुर्भाग्य सेमिफाइनल खेल वर्षाका कारण रद्ध भयो । मुखमै आएको खेल छुट्टयो,' उनले भने, 'धेरै दुःख लागेको छ । लक्ष्यमा पुग्न हामी चुक्यौं । प्रशिक्षकको नाताले म यसको जिम्मा लिन्छु । व्यत्तिगत हिसावमा मलाई पनि निकै नरामाइलो अनुभव भइरहेको छ । तर समग्रमा नेपाली महिला टोली राम्रो खेल्यो । ब्याटिङ, बलिङमा टोलीको प्रदर्शन राम्रो रह्यो । विशेष गरी युएईसँगको खेलमा अस्मिनाको बलिङ निकै उत्कृष्ट रह्यो ।’

मुख्य प्रशिक्षक टमाटाले पनि कप्तान रुबिनाले भने जस्तै धेरै भन्दा धेरै प्रतियोगितामा अवसर पाए नेपाली महिला क्रिकेट टोली दुई वर्षमा छलाङ मार्ने बताए । 

च्याम्पियनसिपमा १० टोलीले सहभागिता जनाएका थिए । पाँच/पाँच राष्ट्रलाई दुई समूहमा विभाजन गरी गराइएको प्रतिष्पर्धामा नेपाल समूह बीमा रहेको थियो । चार खेलमध्ये नेपालले तीन खेलमा जित र एक खेलमा हारबाट समूह उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको थियो । समूह ए को विजेता युएईसँगको खेल वर्षाका कारण अवरुद्ध हुँदा समूह विजेताको आधारमा युएई फाइनल पुग्दा नेपालको एसियाकप यात्रामा पूर्णविराम लागेको थियो । 


Author

थप समाचार
x