क्रिकेट

ती ‘दुई ओभर’ जसमा आदिलले गरे ‘स्पट फिक्सिङ’

सञ्जीव शाह |
माघ १०, २०७९ मंगलबार १७:३२ बजे

काठमाडौँ- ‘स्पट फिक्सिङ’ को आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर मोहम्मद आदिल आलम (अन्सारी) ले नेपाल टी-ट्वान्टी लिग अन्तर्गत दुई खेलका दुई ओभरमा ‘स्पट फिक्सिङ’ गरेको पत्ता लागेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार पत्रकार सम्मेलनका क्रममा आदिलले लिगको दुई खेलमा स्पट फिक्सिङ गरेको खुलासा गरेको हो । आलमलाई ती दुवै खेलमा एउटा ‘वाईड’ र एउटा ‘नो बल’ फाल्न लगाएको तथा उनले सोही अनुसारको कार्य गरेको सिआइबीको अनुसन्धानले खुलाएको छ ।


जनकपुर रोयाल्सका लागि खेलेका आदिलले पुस १२ गते भएको काठमाडौँ नाइट्स तथा पुस १४ गते भएको फार वेस्ट युनाइटेडविरुद्धको खेलका क्रममा उक्त कार्य गरेको फेला परेको छ ।

आदिलले काठमाडौँविरुद्ध १२ औँ ओभरको पहिलो बल ‘नो बल’ बलको रुपमा फालेका थिए । त्यसपछि पुनः उनले वाइड बल फालेका थिए ।

त्यसपछि फार वेस्टविरुद्ध आदिलले गरेको छैटौ ओभरको पहिलो बल ‘नो बल’ भएको थियो भने पुनः त्यसलगतै फालिएको अर्को बल वाइड भएको थियो । दुवै ओभरमा ब्याटिङ गर्ने खेलाडी विदेशी थिए ।

सिआइबीका एसएसपी दिनेश कुमार आचार्यका अनुसार छानबिनका क्रममा स्पट फिक्सिङका लागि गरिएको अप्रोच मिल्ने खालको खेल आदिलले खेलेको निष्कर्ष निकालेको छ ।

उनका अनुसार खेलाडीहरुलाई स्पट फिक्सिङका लागि व्यक्तिगत रुपमा भेटेर, साजिक सञ्जालमा म्यासेज तथा फोनमा म्यासेज पठाएर प्रयास गरिएको थियो ।

त्यसैगरी पक्राउ परेका पूर्व क्रिकेटर महबुब आलमले कम्तिमा पनि दुई नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङ गर्ने प्रयास गरेको खुलेको छ ।

सिआइबीको छानविनका क्रममा एक नेपाली खेलाडीलाई नेपाली व्यक्तिले अप्रोच गरेको, एक विदेशी खेलाडीलाई व्यवस्थापक टिमका सदस्यबाट अप्रोच भएको र टिम म्यानेजरको निर्देशनमा एक विदेशी खेलाडीले एक सेशनमा निर्धारित रन मात्र बनाई स्पट फिक्सिङ गरेको देखिएको छ ।

नेपाल टी-ट्वान्टी लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x