क्रिकेट

लिग-२ मा सर्वाधिक रन बनाउने तथा विकेट लिने शीर्ष पाँच खेलाडी

इकागज |
चैत ४, २०७९ शनिवार ९:५५ बजे

काठमाडौँ- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ९ रनले पराजित गरेसँगै आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ टुंगिएको छ ।

अन्तिम खेलमा यूएईमाथि जित हात पारेसँगै नेपालले आगामी जुन १८ खेखि जुलाई ९ सम्म जिम्बावेमा हुने २०२३ क्रिकेट विश्वकप क्वालिफायरमा स्थान सुरक्षित गरिसकेको छ । समग्रमा नेपाल लिग-२ मा तेस्रो भयो ।


लिग-२ मा सहभागी ७ टिमले समान ३६-३६ खेल खेलेका थिए । सोही लिग-२ अन्तर्गत सर्वाधिक रन बनाउने पाँच खेलाडीको सूचीमा भने नेपाली खेलाडी अटाउन सकेनन् ।

नामिबियाका जेरहार्ड इरासमसले सर्वाधिक १ हजार २ सय ९८ रन बनाए । उनले एक शतक तथा ११ अर्धशतक पूरा गरे । दोस्रो स्थानमा रहेका पपुवा न्यूगिनीका असाद भालाले भने १ हजार २ सय ९० रन बनाए । उनले एक शतक तथा ६ अर्धशतक पूरा गरे ।

तेस्रो स्थानमा रहेका अमेरिकाका मोनान्क पटेलले १ हजार २ सय १९ रन बनाउँदा २ शतक तथा ८ अर्धशतक हिर्काएका थिए । त्यसैगरी, चौथो स्थानमा पनि अमेरिकी खेलाडी नै रहे । अमेरिकाका आरोन जोन्सले १ हजार १ सय ८४ रन बनाउँदा १ शतक तथा ८ अर्धशतक पूरा गरेका थिए ।

पाँचौ स्थानमा भने ओमानका जतिन्दर सिंह रहे । उनले ३ शतक तथा ६ अर्धशतकको मदतमा १ हजार ९८ रन बनाए ।

नेपालको तर्फबाट सर्वाधिक ९ सय ३४ रन बनाएका आशिफ शेख भने १२ औँ स्थान रहे । उनले १ शतक तथा ७ अर्धशतक पूरा गरे ।

लिग-२ मा भने सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा भने सन्दीप लामिछाने दोस्रो स्थानमा रहे । उनले ३१ खेलमा ७२ विकेट हात पारे । सन्दीपले एकै खेलमा सर्वाधिक ६ विकेट हात पार्दा १६ रनमात्र खर्चिएका थिए ।

ओमानका विलाल खान भने सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहे । उनले ३५ खेलमा ७६ विकेट हात पार्न सफल भए । तेस्रो स्थानमा रहेका अमेरिकाका सौरभ नेत्रभाल्करले ५८ विकेट, चौथो स्थानमा रहेका स्कटल्यान्डका मार्क वाट्टले ५४ तथा पाँचौ स्थानमा रहेका नामिबियाका रुवेन ट्रम्पेलम्यानले ५१ विकेट हात पारे ।

छैटौ स्थानमा रहेका नेपालका करण केसीले भने ५० विकेट लिन सफल भए ।


Author

थप समाचार
x