क्रिकेट

टेस्ट क्रिकेटमा न्यूजिल्यान्डविरुद्ध बंगलादेशको कीर्तिमानी जित

इकागज |
मंसिर १६, २०८० शनिबार १२:२३ बजे

काठमाडौँ- टेस्ट क्रिकेटमा बंगलादेशले न्यूजिल्यान्डमाथि कीर्तिमानी जित हात पारेको छ ।

बंगलादेशमा जारी दुई खेलको टेस्ट सिरिजको पहिलो खेलमा घरेलु टोली बंगलादेशले न्यूजिल्यान्डलाई १ सय ५० रनले पराजित गरेको हो ।


टेस्ट क्रिकेटअन्तर्गत बंगलादेशले घरेलु मैदानमा न्यूजिल्यान्डलाई पहिलो पटक पराजित गरेको हो ।

नजमुल होसेन सान्तोले कप्तानी गरेको पहिलो खेलमै बंगलादेशले न्यूजिल्यान्डलाई पराजित गरेको हो ।

यसअघि बंगलादेशले न्यूजिल्यान्डलाई सन् २०२२ मा उसैकै घरेलु मैदानमा पराजित गरेको थियो ।

पहिलो खेलमा जित हात पारेसँगै बंगलादेशले विश्व टेस्ट च्याम्पियनसीपमा पनि महत्वपूर्ण अंक जोडेको छ ।

पहिलो खेलमा जितका लागि ३ सय ३२ रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले दोस्रो इनिङ्समा १ सय ८१ रनमात्र बनाउन सक्यो ।

दोस्रो इनिङ्समा न्यूजिल्यान्डका डारिल मिचेलले सर्वाधिक ५८ रन बनाए । बंगलादेशका ताइजुल इस्लामले सर्वाधिक ६ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले पहिलो इनिङ्समा ३ सय १० रन बनाउँदा न्यूजिल्यान्डले पहिलो इनिङ्समा केन विलियम्सनको १ सय ४ रनको मदतमा ३ सय १७ रन जोडेको थियो । पहिलो इनिङ्समा बंगलादेशका ताइजुल इस्लामले ४ विकेट लिएका थिए ।

दोस्रो इनिङ्समा भने कप्तान नाजमुल हुसेन शान्तोले १ सय ५ रन जोडेपछि बंगलादेशले ३ सय ३८ रनको योगफल तयार पारेको थियो ।

यी दुई टोलीबीचको दोस्रो खेल डिसेम्बर ६ तारिखबाट सुरु हुनेछ ।


Author

थप समाचार
x