क्रिकेट

यू-१९ एसिया कप : पाकिस्तानसँग कसरी हार्‍यो नेपाल ?

इकागज |
मंसिर २२, २०८० शुक्रबार १८:२० बजे

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (यूएई) मा आजबाट सुरु भएको एसीसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

समूह 'ए' अन्तर्गत दुबईमा भएको खेलमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको हो ।


नेपालले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले २६ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानसँग कहाँ चुक्यो नेपाल ?

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ५२ रन जोड्यो ।

खासमा पहिले ब्याटिङ गरेको नेपालले १७ ओभरभित्रै ५ विकेट गुमाउँदा बोर्डमा केवल ४६ रनमात्र थियो ।

नेपालबाट २४ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका अनुभवी अलराउन्डर गुल्सन झा १ रनमै आउट भए । त्यसैगरी, नेपालका लागि १० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका कप्तान देव खनाल भने शून्य रनमै पभेलियन फर्किए ।

गुल्सन र देवले टिमका लागि योगदान गर्न नसक्दा नेपालले सोचेजस्तो सुरुवात गर्न सकेन । सिनियर टोलीबाट खेलिसकेका कारण गुल्सन र देवबाट ठूलो अपेक्षा गरिएको थियो तर पाकिस्तानी बलर मोहम्मद जिशनले कप्तान देव तथा अली अस्फान्डले गुल्सनको विकेट लिएर नेपाललाई दयनीय अवस्थामा पुर्‍याएका थिए ।

तर, ५१ रन बनाएका उत्तम मगर तथा ३१ रन जोडेका दिपेश कँडेलले छैँटौँ विकेटका लागि ७० रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काएका थिए ।

तर, त्यसपछिका ब्याटरले भने चाहिएको रन जोड्न नसक्दा नेपाल सस्तैमा समेटियो ।

पाकिस्तानका मोहम्मद जिशनले घातक बलिङ गर्दै सर्वाधिक ६ विकेट हात पारेपछि नेपाली इनिङ्स धराशायी बनेको थियो । जिशनलाई साथ दिन आमिर हसनले पनि २ विकेट लिए ।

नेपालमाथि पाकिस्तान हावी भएको क्षण

यता सात ओभरभित्रै पाकिस्तानले दुवै ओपनर शाहजाइद खान (१५ रन) तथा शामयल हुसेन (शून्य रन) गुमाए पनि त्यसपछि आएका आजान अवाइस र कप्तान साद बेगले पाकिस्तानको इनिङ्स सम्हालेका थिए ।

आजान अवाइसले ५६ रन तथा कप्तान सादले ५० रनको योगदान गर्दै पाकिस्तानको जित सुनिश्चित गरे ।

नेपालका अलराउन्डर गुल्सनले पाकिस्तानका दुवै ओपनरलाई सस्तैमा आउट पारे पनि त्यसको फाइदा भने अन्य नेपाल बलरहरूले लिन सकेनन् ।

आकाश त्रिपाठीले सादको विकेट लिएपनिसुवाश भण्डारी विपिन रावल, दिपेश कँडेल र कप्तान देव खनालले विकेट भने हात पार्न सकेनन् । जसका कारण नेपाल पहिलो खेलमै पराजित हुन पुग्यो ।


Author

थप समाचार
x