क्रिकेट

नामिबियासँग हारेको नेपालले बुधबार नेदरल्यान्ड्सविरुद्ध खेल्दै

इकागज |
फागुन १५, २०८० मंगलबार १७:२० बजे

काठमाडौँ- त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध २० रनको हार भोगेको नेपालले दोस्रो खेलमा बुधबार नेदरल्यान्ड्सको सामना गर्ने भएको छ ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११:३० बजेबाट सुरु हुनेछ ।


टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल र नेदरल्यान्ड्सबीच यो १० औँ खेल हुनेछ । यसअघि भएका ९ मध्ये नेपालले ४ तथा नेदरल्यान्ड्सले पनि ४ खेलमा जित हात पारेका छन् । एक खेल भने नतिजाविहीन बनेको थियो ।

नेपाल र नेदरल्यान्ड्सबीच टी-ट्वान्टी अन्तर्राष्ट्रियमा पछिल्लोपटक सन् २०२१ को अप्रिल २४ मा खेल भएको थियो । ​कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनले पराजित गरेको थियो ।

उक्त खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ७७, कुशल मल्लले ५० तथा दिपेन्द्र सिंह ऐरीले ४८ रन बनाएका थिए । 

जवाफमा नेदरल्यान्ड्स ९६ रनमै समेटिएको थियो ।


Author

थप समाचार
x