क्रिकेट

ललितपुर मेयर्स कपः बागमतीमाथि सुदूरपश्चिमको शानदार जित

इकागज |
जेठ ४, २०८१ शुक्रबार १३:४६ बजे

काठमाडौँ- ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशमाथि सुदूरपश्चिम प्रदेशले शानदार जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सुदूरपश्चिमले बागमतीलाई १ सय ९ रनले पराजित गरेको हो ।


यससँगै सुदूरपश्चिमले ४ मध्ये ३ खेलमा जित हात पारेर फाइनलमा प्रवेश गरेको छ । नेपाल एपीएफ क्लबले भने चारवटै खेलमा जित हात पार्दै फाइनलको यात्रा तय गरिसकेको छ ।

सुदूरपश्चिम र एपीएफबीचको फाइनल शनिबार हुने तय भएको छ ।

शुक्रबारको खेलमा १ सय ५८ रनको लक्ष्य पछ्याएको बागमतीले १६ ओभर १ बलमा सबै विकेट गुमाएर ४८ रनमात्र बनाउन सक्यो ।

बागमतीका लागि कृष्मा गुरुङले सर्वाधिक १६ रन बनाइन् । सुदूरपश्चिमका लागि रितु कनौजियाले सर्वाधिक ३ विकेट हात पार्दा कविता जोशी र लक्ष्मी साउदले २-२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५७ रन जोड्यो । सुदूरपश्चिमका लागि सम्झना खड्काले ४७ बलमा अविजित ७४ रन जोड्दा १० चौका प्रहार गरिन् ।

रुवी पोदार र कप्तान विन्दु रावलले समान २८-२८ रन तथा कविता जोशीले २० रन जोडे ।


Author

थप समाचार
x