क्रिकेट

टी-ट्वान्टीमा बंगलादेशमाथि अमेरिकाको कीर्तिमानी जित

इकागज |
जेठ ९, २०८१ बुधबार १०:५७ बजे

काठमाडौँ- घरेलु टोली अमेरिकाले बंगलादेशविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा कीर्तिमानी जित हात पारेको छ ।

मंगलबार राति सम्पन्न खेलमा अमेरिकाले टेस्ट राष्ट्र बंगलादेशलाई ५ विकेटले पराजित गरेको हो । यससँगै अमेरिकाले दोस्रोपटक टेस्ट राष्ट्रमाथि टी-ट्वान्टी अन्तर्राष्ट्रियमा जित हात पारेको हो । यसअघि अमेरिकाले आयरल्यान्डलाई पराजित गरेको थियो ।


तर बंगलादेशविरुद्धको नतिजा अमेरिकाका लागि अहिलेसम्मकै अप्रत्याशित नतिजा हो । अमेरिकाले पहिलो भेटमै बंगलादेशलाई पराजित गर्न सफल भएको छ । 

मंगलबार रातिको खेलमा १ सय ५४ रनको लक्ष्य अमेरिकाले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

अमेरिकाको जितमा कोरी एन्डरसनले २५ बलमा ३४ तथा हर्मित सिंहले १३ बलमा ३३ रनको योगदान गरे । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले सर्वाधिक २ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनायो ।

बंगलादेशका लागि ताउहिद हृदोयले सर्वाधिक ५८ रन तथा महमदुल्लाहले ३१ रन जोडे । अमेरिकाका लागि स्टेभेन टेलरले सर्वाधिक २ विकेट हात पारे ।


Author

थप समाचार
x