अपराध

१५ वर्षीया किशाेरीमाथि सामूहिक बलात्कार: तीन जना पक्राउ, एक फरार

यस्ताे छ घटना विवरण

इकागज |
भदौ २४, २०७९ शुक्रबार २०:२५ बजे

सांकेतिक तस्बिर

कैलाली- कैलालीको घोडाघोडी नगरपालिकामा डेउडा हेर्न गएकी १५ वर्षीया किशाेरी बलात्कृत भएकी छन् । २१ गते राती ४ जनाले सामूहिक रूपमा बलात्कार गरेको भन्दै ती किशाेरीले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन् ।

प्रहरीले आरोपी ४ मध्ये तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए । उनले घोडाघोडी १ का एसी सापकोटा, हिमाल सापकोटा र घोडाघोडी २ का बसन्त बिष्ट पक्राउ परेको बताउँदै फरार घोडाघोडी १ का नवीन कुंवरको खोजी भैरहेको बताए । 


ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले पक्राउ परेका तीनजनालाई नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको बताए । उनले किशाेरीको धनगढीमा स्वास्थ्य परीक्षण भैरहेको जानकारी दिए । 

घटना विवरण 
भदौ २१ गते सुखड बजारको हेलीप्याडमा भैरहेको डेउडा हेर्न साथी सँगै गएकी किशाेरी देउडा सकिएपछि सुखड बजारमा रहेको एक होटलमा खाजा खान गएकी थिइन् । पहिल्यै त्यही रहेका चारजना मध्ये नवीन कुंवरले किशाेरीलाई चिनेका कारण सँगै खाजा खान अनुरोध गरेको र सँगै खाजा खाएको किशाेरीले बयानमा बताएको प्रहरीले जानकारी दिएको छ । 

खाजा खाँदै गरेको अवस्थामा नवीनले नै घोडाघोडी नगरपालिका १ पिपलडाँडामा रहेको एसी सापकोटालाई कल गरेको र उनले केटी लिएर यही आउन भनेपछि सँगै रहेको साथी घर जान्छु भनी गएको र त्यहाँ रहेका मध्ये तीनजना उक्त सापकोटाको घर गएको प्रहरीले बताएको छ । 

किशाेरीसँगै गएका तीनजना र एसीले मदिरा सेवन गरी किशाेरीलाई सामूहिक बलात्कार गरेको प्रहरी जानकारी दिएको छ । 

भोलिपल्ट २२ गते बिहान २:३० बजेतिर सुखड बजारमा बेहोस अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई जानकारी गराएको र प्रहरीले नजिकै रहेको अस्पतालमा उपचारका लागि पुर्‍याएको थियो । किशोरीको होस आएपछि प्रहरीले ३:३० बजेतिर इलाका प्रहरी कार्यालय सुखडमा ल्याइ घटनाबारे बुझ्दा किशाेरीले आफू बलात्कृत भएको बताएको प्रहरीले जानकारी दिएको छ । 

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले किशोरीको बयानको आधारमा तीनजनालाई नियन्त्रणमा लिएको बताए । उनले एकजना फरार रहेकोले उनको खोजी कार्य भैरहेको जनाए ।


Author

थप समाचार
x