अपराध

श्रीमती हत्या आरोपमा युवक पक्राउ

इकागज |
मंसिर १३, २०८० बुधबार २०:४९ बजे

फाइल फोटो

सिरहा - सिरहा प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एक युवकलाई नियन्त्रणमा लिएको छ । 

सिरहा नगरपालिका–१५ सुखचैनाका ४० वर्षीय देवेन्द्र यादवलाई ३० वर्षीया श्रीमती सञ्जिताकुमारी यादवको हत्या अभियोगमा आज पक्राउ गरेको हो । गत बिहीबार ७ गते श्रीमती हत्या गरी फरार रहेको यादवलाई इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले भारतीय सीमा नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रवीन्द्रराज पाण्डेले राससलाई जानकारी दिए । 


घरायसी विवादका क्रममा श्रीमान्ले इँटा र भाटाले कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । गम्भीर घाइते भएकी उनलाई उपचारको लागि छिमेकी भारतीय बजार जयनगर लगेको सूचना प्राप्त हुनासाथ प्रहरीले खोजतलास र अनुसन्धान गर्दा हत्या गरी भारततर्फ लगेको खुलेको बताएको छ ।

यादवलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा भारतको मधुबनी जिल्लाको खजोली थानाअन्तर्गत सलरा भन्ने ठाउँको झाडीमा फालेको खुलेपछि भारतीय प्रहरीको सहयोगमा शव खोजतलास गरी फेला परेको प्रहरीले जनाएको छ । आवश्यक प्रक्रिया पूरा गरी शव नेपाल ल्याइएको छ । मृतकका पाँच छोराछोरी छन् । प्रहरीले सिरहा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


Author

थप समाचार
x