अपराध

भूपु लाहुरेसँग विवाह गर्छु भन्दै हिंडेकी अप्सराको हत्या भएको त्यो दिन...

अतिन आचार्य |
पुस ५, २०८० बिहीबार १४:३८ बजे

काठमाडौँ-  (अप्सरा) नारायणी तिम्सिनाको जीवन सामान्य चलेको थियो । आफ्नो दैनिकी सामान्य मजदुरी गरेर कटाउँथिन्मकवानपुर मनहरी गाउँपालिका-३ की अविवाहित नारायणी आफ्नो जीवन चलाउनै काठमाडौँका गल्ली-गल्लीमा हिड्थिन् ।

कामकै शिलशिलामा अप्सराको धेरै मानिससँग चिनजान हुन्थ्यो । चिनजान मध्येका शिवराम अधिकारीसँग उनको भेटघाट भइरहन्थ्यो । उनीहरूको राम्रै सम्बन्ध थियो ।


शिवरामले एक्लाे जीवन बिताइरहेकी अप्सरालाई  विवाह गर्ने सल्लाह दिए । 'लामो समय एक्लो जीवन बिताउन कठिन हुन्छ,'  उनले भने,’ एक्लै बसेर हुँदैन । राम्रो साथी पाए बिहे गर है ।‘

अप्सराले पनि शिवराजको कुरामा समर्थन जनाइन् । उनले अप्सरालाई भूपु लाहुरेसँग विवाह गरिदिने आश्वासन दिलाए । उनकाे कुरामा उनी विश्वस्त भइन् । सोही अनुसार उनले पनि तयारी गरिन् ।

‘भूपु लाहुरेसँग विवाह हुन्छ । गहना र १५ देखि २० हजार रुपैयाँ लिएर आउनु,’ शिवरामले अप्सरालाई फोन गरेर भनेका थिए । उनी पनि सोही अनुसार तयार भएर २०७४ पुस २९ गते भेटघाट गर्न पुगिन् ।

अप्सराले सुन र पैसा बोकेर शिवरामलाई भेटिन् । शिवराम एक्लै थिएनन् । साथमा साथी पनि लिएर आएका थिए । जगत विश्‍वकर्मालाई उनले लिएर आएका थिए । अप्सरा र जगतको अगाडि कहिले पनि भेटघाट भएको थिएन ।

बालाजुको माछापोखरी एरियामा उनीहरू तीनजनाको भेट हुन्छ । दुई-तीन घण्टासँगै गफ गरी खाना खाएर उनीहरु  चक्रपथ चल्ने सार्वजनिक यातायातमा चढ्छन् । केही समयपछि बल्खु पुगेर झर्छन् ।

बसबाट झरेपछि तीनै जना ललितपुरको कुसुन्तीतर्फ लागे । साँझपख पुनः  बल्खु एरियामा खाना खाई खोलातर्फ जान्छन्। त्यहीँ खोलामा उनीहरू बस्छन् । केही समय शिवराम र अप्सरासँगै सुत्छन् । सोही समयमा जगत भने डाँडामाथि जान्छन् ।

शिवरामले उनलाई मान्छे हेर भनी माथि पठाए । जगत २ घण्टापश्‍चात फर्कदा अप्सरा सुतिरहेकी थिइन् । अप्सरालाई सुतेकै ठाउँमा शिवरामले ढुंगाले हान्छन् ।

पुनः जगतले पनि अप्सराकै टाउकाेमा ढुंगाले २ पटक हानेर हत्या गर्छन् । हत्या गरेपछि अप्सराको साथमा रहेको सुन र पैसा लिएर उनीहरू फरार भएका थिए ।

अप्सराको खल्तीमा भएको गहना र छ/सात सय रुपैयाँ लिएर गए । सोही रात दुवै जना गोंगबुस्थित नयाँ बसपार्कको कोपिला गेष्ट हाउसमा बस्छन् । भोलिपल्ट बिहानै उदयपुर जाने गाडीमा चढेर कटारी पुग्छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा दुवै जनालाई सार्वजनिक गरिएको छ । हत्या गरि  फरार रहेका दुवै जनालाई नियन्त्रणमा लिएको कार्यालयका अनुसन्धान अधिकृत सुरक्षा केसीले जानकारी दिइन् ।

उनका अनुसार २०७४ पुस ३० गते  अन्दाजी साढे ४ बजे शव फेला परेको थियो । अघिल्लो रात अन्दाजी १० र ११ बजेको बीचमा उनको हत्या भएको थियो ।

भारतमा रहेका ३७ वर्षीय जगतलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको उनले बताइन् । गएराति उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ बजे नियन्त्रणमा लिएको हो । उनी अर्घाखाँची शितगंगा नगरपालिका १४ का हुन् ।

शिवराम भने यसअघि नै केन्द्रीय कारागारमा रहेको उनले जानकारी दिइन् । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ का उनी गत वर्ष चोरी केसमा जेल सजाय भोगिरहेका थिए ।

‘नाम परिवर्तन गरि उनले जेल सजाय भोगिरहेका थिए,’ उनले भनिन्,’अर्जुन अधिकारीको नाममा  तीन वर्ष कैद भोगिरहेका छन् ।‘

गत साउन २४ गते अनुसन्धान पश्‍चात पीडितको जाहेरी लिएर थप अनुसन्धान गरिरहेको उनले बताइन् । अनुसन्धानका लागि कालीमाटी प्रहरी वृत्तमा राखी अनुसन्धान भइरहेको उनले जानकारी दिइन् ।

 

 

 

 

 

  


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x