अपराध

चितवनमा बोरामा भेटिएको दुई शव भारतीयको भएको खुलासा

अनैतिक सम्बन्धकाे शंका गर्दै भतिज र श्रीमतीको हत्या

इकागज |
पुस २३, २०८० सोमबार १६:५४ बजे

स्केच तस्बिर

काठमाडौँ -  चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत भएको छ । उनीहरू भारतीय रहेको प्रहरीले जानकारी दिएको छ ।  भारत माेतिहारी फुलबारीका १९ वर्षीय ऋषभ कुमार कुशवाहा र भारत विहारकी ३० वर्षीय अस्मिता भन्ने सन्जु देवी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

आज पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरूको भारत विहार बस्ने ३३ वर्षीय अखिलेश भगतले हत्या गरेर फालेको जानकारी दिएको हो । अखिलेश र सन्जुदेवी श्रीमान् श्रीमती रहेको खुल्न आएको छ । उनीहरू चितवनमा तरकारी व्यापार गरेर बस्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अखिलेशले सन्जुको ऋषभसँग अनैतिक सम्बन्ध भएको शंका लागेपछि गत मंसिर २ गते हत्या गरेर फालेको प्रहरीले जानकारी दिएको छ । ऋषभ र अखिलेश नातामा काका भतिज हुन् । 


गत मंसिर १६ देखि अखिलेश कसैलाई जानकारी नदिइ भारतको विहार गएका थिए । नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी खोजतलास गर्दा अखिलेशबारे पत्ता लागेकाे हाे । उनलाइ भारतीय प्रहरीले पुस १६ गते पक्राउ गरेको थियो । पक्राउ पछि भारतीय प्रहरीले अनुसन्धान गर्दा उनले नेपालमा ऋषभ र सन्जु देवीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।  अखिलेश अहिले व्यक्ति हत्या र अपहरणको आरोपमा भारतीय जेलमा छन्    

गत मंसिर ३ गतेको सिसिटिभि फुटेजमा अखिलेशले साइकलामा दुई पटक उक्त शवहरूलाई राखि कल्भर्टतर्फ लगेको देखिएको थियो । प्रहरीले मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा दुई जनाको शव कल्भर्टमा भेटेको थियो । शव मुखमा टेप लगाएको, घाँटीमा रातो कपडाले कसेको, दुवै शवको हात र खुट्टा क्रस गरी डोरीले बाँधी सोही डोरीले घाँटीमा समेत बाँधेको अवस्थामा भेटिएको थियो । प्रहरीले लामो समयसम्म मृतकबारे कुनै जानकारी नपाएपछि स्केचसमेत सार्वजनिक गरेको थियो । 


Author

थप समाचार
x