अपराध

‘भर्चुअल लभ’ पार्दै पैसा ठग्दै

अनिष भट्टराई |
माघ ९, २०७७ शुक्रबार ११:० बजे

सांकेतिक तस्बिर

पोखरा : पोखरा महानगरपालिका २२ का दीपेश मगर (नाम परिवर्तित) भर्चुअल संसारमा मस्त थिए । पढाइ पनि भर्चुअल हुन थालेपछि भर्चुअल संसार उनको भौतिक संसारमाथि हावी थियो । भर्चुअल दुनियाँ (सामाजिक सञ्जालहरु)मा उनका साथीहरुले आफ्ना फोनका बारे गफ लगाउँथे, उनीसँग त्यस्तो राम्रो फोन थिएन । उनमा राम्रो फोन नभएको हीनताबोध थियो । 

एक दिन दीपेशले फेसबुकमा विज्ञापन देखे- आइफोन ११ प्रो म्याक्स १ लाख २० हजारमा ! फोनको नेपाली बजार मूल्य २ लाख १५ हजार छ । विज्ञापन ‘एप्पल स्टोर युएसए’ नामक फेसबुक पेजको थियो । १ लाख २० हजारमा नयाँ मोडलको आइफोन । दीपेशलाई लाग्यो, ‘अब मसँग पनि नयाँ फोन आउनेछ, म पनि साथीहरुलाई नयाँ फोनका बारे गफ लगाउन सक्छु ।’ 


दीपेशले उक्त विज्ञापन दिएको फेसबुक पेजमा म्यासेज गरे । पेजबाट ‘रिप्लाई’ आइहाल्यो । पेजमा कुराकानी अघि बढ्यो । १० हजार रुपैयाँ तत्काल पठाएमात्र फोन खरिदको बाँकी प्रक्रिया अगाडि बढ्ने उत्तर पेजले दियो । १० हजार दीपेशका लागि ठूलो रकम थिएन । उनले आफ्नो बुबाको बैंक खाताबाट १० हजार रुपैयाँ पेजले दिएको खातामा पठाइदिए । 

नयाँ फोन पाउने आसमा पैसा पठाएपछि दीपेशले पेजमा म्यासेज गर्ने कोसिस गरे । म्यासेज गएन । खासमा उनलाई पेजले ‘ब्लक’ गरिसकेको थियो । उनले सबै कोसिस गर्दा पनि पेजसँग सम्पर्क नभएपछि मात्र आफू ठगिएको चेत पाए । 

अहिले युवा वर्गमा चल्तीको मोबाइल गेम हो ‘पब्जी’ । सामाजिक सञ्जालपछि युवा वर्ग धेरै भुल्ने प्लार्टफर्म पब्जी बनेको छ । पोखरा १० रामबजारका राम गुरुङ (नाम परिवर्तित) पनि पब्जीमा आफ्नो समय धेरै बिताउँछन् । खेललाई आफ्नो पक्षमा पार्न धेरै सामान किन्छन् । खेल जित्ने ‘अप्सन’ लिन सुरुमा प्रयोगकर्ताले ‘युसी’ लिनुपर्छ । पब्जीका सौखिन गुरुङ पनि खेल जित्न त्यही ‘युसी’ किन्न पैसा खर्च गर्दै आएका छन् । यसअघि युसि खरिदमा नठगिएका गुरुङ माघ ६ गते भने ठगिए । 

‘अनलाइन गेमिङ सोलुसन’ नामको पेजमार्फत उनले युसी किन्न ६ हजार रुपैयाँ हालिदिए पनि उनले युसी पाएनन् । पेजले आफूलाई ठगेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन् । ‘पेजले पैसा लिएपछि युसि हाल्दिन पर्‍यो नि, त्यो त लिगल हो । अहिले त फोन नि लाग्दैन, म्यासेज नि हेर्दैन, मलाई ठगे,’ प्रहरीसमक्ष पुगेर गुरुङले उजुरी टिपाए । 

अन्नपूर्ण गाउँपालिकाकी पूजा सुनार (नाम परिवर्तित) लाई मंसिर अन्तिम साता फेसबुकमा ‘म्यासेज रिक्वेस्ट’ आयो । म्यासेज रिक्वेस्ट एसेप्ट गरिन्, कुराकानी चल्न थाल्यो । केटाले म्यासेजमा आफू जापान बस्ने बताए । उनी पनि जापानका सपना बुन्न थालिन् ।

पूजाले देखेको सपना ती केटाले पूरा गर्ने भन्दै १ लाख ४० हजार रुपैयाँ आफ्नो बैंक खातामा हाल्न लगाए । पूजाले जापान जाने सपना पूरा हुने भन्दै त्यो रकम खातामा हालिदिइन् । पछि फेरि त्यसरी नै थप पैसा हाल्न केटाले अह्राए । तर पूजालाई शंका बढ्यो र उनले प्रहरीकहाँ उजुरी दिइन् । पछि थाहा भयो, उनी साँच्चीकै ठगिएकी थिइन् । 

पोखराका एक युवकको फेसबुकबाट फिलिपिन्सकी महिलासँग ‘लभ’ पर्‍यो । उनीहरु व्यक्तिगत कुरा गर्न थाले, फेसबुक खाता साटासाट गरे । भिडियो कल बाक्लियो । विदेशी भए पनि ती महिलामाथि पोखराका ती पुरुषको विश्वास बढ्यो । बढ्दो आत्मीयतासँगै उनीहरुबीच अश्लील संवाद हुन थाले । गोप्य अंगका दृश्य साटासाट पनि भयो । 

ती महिलाले भिडियो जम्मा गरिराखेकी रहेछिन् । अनि सुरु गरिन्, ‘ब्ल्याकमेल’ । ‘पैसा पठाइदे नत्र तेरो सबै इस्टमित्रलाई फोटो भिडियो पठाइदिन्छु भन्दै धम्की दिन थालिन्, ‘प्रहरीलाई ती पुरुषले दिएको उजुरीमा भनिएको छ । 

कास्की प्रहरीमा साइबर अपराधको उजुरी संख्या बढ्दो छ । २०७६/७७ मा कास्की प्रहरीमा १७७ वटा साइबर अपराधको उजुरी दर्ता भएकोमा यो वर्षको मध्यान्तरसम्म १४४ उजुरी दर्ता भइसकेका छन् । सबैभन्दा बढी फेसबुक खाता ह्याक गरिएको भन्दै ६४ वटा उजुरी परेका छन् । 

नक्कली फेसबुक खाता खोलेको उजुरी ४३, अश्लील हर्कत गरेको भन्दै २४ र ठगी गरेको भन्दै ९ उजुरी परेका छन् । अघिल्लो आर्थिक वर्षमा ३ ठगीका मुद्दा दर्ता भएकोमा यो आर्थिक वर्षमा मात्रै ९ उजुरी दर्ता भइसकेका छन् । 

मजबुत कानुन नहुँदा प्रहरीलाई सास्ती 

नेपालमा अहिले साइबर अपराध सम्बन्धी ऐन नेपाल विद्युतीय कारोबार ऐन, २०६३ लागु छ । ऐन अद्यावधिक नहुँदा कुनै कसुरमा कुन नियममा टेकेर कारबाही गर्ने भन्नेमा प्रहरीलाई नै सास्ती हुने गरेको साइबर ब्युरो काठमाडौंका प्रवक्ता राजकुमार खड्गी बताउँछन् ।

‘कुनै कसुरमा कुन कुन नियममा टेकेर कारबाही गर्ने भन्नेमा मूर्त कानुन छैन, समयसँग परिस्कृत नहुँदा हामीलाई नै सास्ती छ,’ उनले भने, ‘ऐन बन्ने चरणमा थियो, प्रतिनिधिसभा विघटन भएपछि त्यो पनि रोकियो ।’ 

अहिलेका युवा वर्गमा ‘सोसियल मिडिया लिट्रेसी’ धेरै न्यून भएको उनको बुझाइ छ । कुन उमेरबाट सामाजिक सञ्जालमा जोडिने, कसरी चलाउने भन्ने ज्ञान नभई चलाउँदा साइबर अपराधको फन्दामा पर्ने गरेको खड्गीले बताए । ‘लिट्रेसी कम छ, सानै उमेरमा पनि फेसबुकमार्फत ब्ल्याकमेलिङ, बुलिङ जस्ता घटना घटाइने गरेको छ,’ खड्गीले भने । 

साइबर अपराधको फन्दामा सबैभन्दा बढी युवा वर्ग परेका छन् । अनलाइन गेमिङ, अनलाइन सपिङमा धेरै ठगीमा युवा परेको साइबर ब्युरोको तथ्यांक छ । मुख्यतः आर्थिक रुपले सबल युवतीहरुलाई ‘फेक पोर्नोग्राफी’ को डर देखाएर लुटिने गरेको घटना पनि आएका उनले बताए । ‘एडिट गरेर, टाउको जोडेर फेक पोर्नोग्राफी गराएर आर्थिक रुपले ठगिने गरेका घटना पनि छन्,’ उनले भने ।  


 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x