कूटनीति

नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौँ : उपविदेशमन्त्री न्युल्याण्ड

इकागज |
माघ १६, २०७९ सोमबार १६:४८ बजे

काठमाडौँ- दुई दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताएकी छन् ।

सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएकी हुन् । उनले नेपालको आर्थिक विकासमा अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) परियोजनामार्फत सहयोग गरिरहेको पनि उल्लेख गरिन् ।


अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, साईबर क्राइमका क्षेत्रमा भइरहेको अपराधलाई रोक्न नयाँ टेक्नोलोजीमा सहयोग गर्ने विषयमा आगामी दिनमा झनै सशक्त बनाउँदै जाने उनले प्रतिबद्धता जनाइन् । उनले नेपाललाई अमेरिकाले बहुपक्षीय सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि आपसी हितका विषयमा निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।

उनले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्रको विकास तथा सुशासनमा पुर्‍याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउँदै जाने बताइन् । उपविदेशमन्त्री न्युल्याण्डले नेपालको नयाँ सरकारले अमेरिका र नेपालबीचको सम्बन्धलाई झनै सुमधुर बनाएर लैजानेमा आशावादी रहेको जिकिर गरिन् ।

सो अवसरमा उपविदेशमन्त्री न्युल्याण्डले पाटन दरबार स्क्वायरको समेत अवलोकन गरेकी थिइन् । आज नै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् ।

नयाँ सरकार बनेपछि अमेरिकी सरकारको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।


Author

थप समाचार
x