कूटनीति

भारतीय संसदमा रहेको नक्सामा नेपाली भूमि समेटिएको विषयमा भारतीय पक्षसँग छलफल गर्न नेपाली दूतावासलाई निर्देशन

इकागज |
असार ५, २०८० मंगलबार १५:७ बजे

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले भारतीय संसदमा रहेको नक्सामा नेपाली भूमि समेटिएको विषयमा भारतीय पक्षसँग छलफल गर्न नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको जानकारी दिएका छन् ।​

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री साउदले भारतका प्रवक्ता र विदेशमन्त्रीले समेत यस विषयमा बोलिसकेको अवस्थामा पुनः भारतीय पक्षसँग छलफल गरी रिपोर्ट गर्न दूतावासलाई निर्देशन दिइसकेको जानकारी दिएका हुन् ।


नक्सामा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनेर लेखिएको र उक्त विषय राजनीतिक नरहेको भनेर आधिकारिक रूपमा भारतीय विदेशमन्त्रीबाट प्रतिक्रिया आइसकेको मन्त्री साउदले बताए । उनले नेपालको नक्साका बारेमा आफूहरू स्पष्ट रहेको, नेपालको नक्सा के हो भन्ने विषय संविधानमा नै उल्लेख भएकाले आफ्नै नक्सालाई विवाद बनाइराख्नु उचित नहुने धारणा राखे ।

त्यस्तै मन्त्री साउदले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन बुझ्न नेपाल सरकार तयार रहेको भन्दै भारतले बुझ्ने नबुझ्ने विषयमा सरकारका तर्फबाट दबाब दिन नमिल्ने तर्क गरे ।

उनले प्रधानमन्त्रीको भारत भ्रमण सफल रहेको र नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने गरी सहमति र सम्झौता भएको दाबी गरे ।


Author

थप समाचार
x