कूटनीति

सभामुख घिमिरे र उत्तर कोरियाली राजदूत मेनबीच भेटवार्ता

इकागज |
असार ७, २०८० बिहीबार १४:२८ बजे

काठमाडौं - सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् । 

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।


भेटमा सभामुख घिमिरेले दुवै देशबीच विभिन्न समयमा भएका संसदीय आदान प्रदान एवं भ्रमणहरुको स्मरण गरे । 

‘विगतमा हाम्रा माननीयहरूले उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो,’ सभामुख घिमिरेले भने, ‘कोरियाली संसदमा उत्तर कोरिया–नेपाल संसदीय मैत्री समूह गठन भएको सुन्न पाउँदा खुसी लागेको छ ।’ उनले निकट दिनहरुमा नै नेपालले नेपाल–उत्तर कोरिया संसदीय मैत्री समूह गठन गर्ने जानकारी दिए । 

सभामुख घिमिरेले नेपालले कोरियाली प्रायद्वीपमा भएका घटनाक्रमलाई चासोका साथ नजिकबाट नियालिरहेको बताउँदै आफ्नो मुलुक कोरियाली शान्ति, एकता र स्थायित्वको पक्षमा रहेको उल्लेख गरे । उनले सांसदहरुमार्फत दुई देशका जनताबीचको सम्बन्ध स्थापना गर्नुपर्नेमा जोड दिए । 

भेटमा नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आफ्नो देशको सर्वोच्च जनसभा (संसद)ले नागरिकका जनअधिकार र नागरिक स्वतन्त्रताको रक्षाका लागि कानुनहरू निर्माण गर्दै गएको जानकारी गराए । उनले बालबालिका सम्बन्धी कानुन पारित भएसँगै निःशुल्क शिक्षाको अधिकार ग्यारेन्टी भएको जानकारी दिए । 


Author

थप समाचार
x