कूटनीति

नेपालको जलविद्युत्को क्षेत्रमा लगानी गर्न दक्षिण कोरिया इच्छुक

इकागज |
असार ११, २०८० सोमबार १४:३७ बजे

काठमाडौं - राष्ट्रिय सभाका अध्यक्ष  गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि नवनियुक्त दक्षिण कोरियाका राजदूत पार्क तइयोङबीच शिष्टाचार भेटवार्ता भएको छ ।  सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमाम सोमबार भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान, हवाइ उडान, पर्यटन तथा आर्थिक विकास लगायतका विषयमा कुराकानी भएको अध्यक्षको सचिवालयले जनाएको छ । 

भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशबीचको द्विपक्षीय सम्बन्ध तथा सहयोग अझ प्रगाढ र सुदृढ हुनेमा विश्वस्त रहेको बताउँदै आगामी वर्ष नेपाल र कोरियाको कुटनीतिक सम्बन्ध स्थापना भएको पचासौं वार्षिकोत्सवलाई नेपालको पर्यटन र आर्थिक विकासका लागि महत्वपूर्ण हुने गरि मनाउनुपर्ने कुरामा जोेड दिए । अध्यक्ष तिमिल्सिनाले नेपालको आर्थिक विकासमा दक्षिण कोरियाको  सहयोग उल्लेखनीय रहेको बताउँदै सामसुङले जस्तै अन्य कारखाना नेपालमा नै राखेर उत्पादन गर्न आग्रह गरे । 


कोरियामा नेपाली श्रमिकले काम गरिरहेको अवस्थामा नेपालमा नै काराखाना राख्दा श्रमसमेत सस्तो हुने भएकाले कोरियाली कम्पनीलाई पनि व्यापारमा थप लाभ हुने अध्यक्ष तिमिल्सिनाले बताए । उनले आफूले कोरियाको औपचारिक भ्रमणका क्रममा पनि यस विषयमा कुरा राखेको जानकारी गराए । भविष्यमा नेपालको जलस्रोत, कृषि र पर्यटनका क्षेत्रमा पनि कोरियाली लगानी भित्रिने उनले विश्वास व्यक्त गरे । 

अध्यक्ष तिमिल्सिनाले कोरियाली पर्यटकहरूको नेपालप्रति आकर्षण रहेका आगामी दिनमा पर्यटकको संख्या दोब्बर वृद्धि गर्ने उद्देश्यसहित काम अघि बढाउन सुझाव दिँदै नेपाल एयरलाइन्सको कोरियामा सिधा उडान सुरु गर्न पनि आग्रह गरे । यसले नेपाल आउने पर्यटकको संख्या वृद्धि हुने विश्वास व्यक्त गर्दै उनले दुवै एयरलाइन्सले उडान सञ्चालन गर्दा भाडादर पनि सस्तो हुन जाने भएकाले नेपाली श्रमिक र कोरियाली पर्यटक लाभान्वित हुन सक्ने बताए ।

जवाफमा राजदूत तइयोङले कोरियाको रोजगार क्षेत्रमा नेपाली कामदारको उल्लेख उपस्थिति रहेको बताउँदै कोरियामा सिकेको सिप र आर्जन गरेको पुँजीलाई नेपालमा फर्केर उद्योग तथा व्यवसायमा लगाउन आग्रह गरे । 

नेपाल फर्केपछि घर र गाडीमा लगानी गर्ने क्रम बढेकोमा उनले चिन्ता व्यक्त गरे ।  नेपाली श्रमिक  शिष्ट, मेहनती र अनुशासित रहेको बताउँदै उनले नेपालबाट जाने श्रमिकको संख्या आगामी दिनहरुमा बढ्दै जाने बताए । उनले नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापना भएको स्वर्ण जयन्तीको अवसरमा आफ्नो मुलुकले विशेष कार्यक्रम गर्ने योजना बनाएको बताए । 

कोरियाको संसदमा कोरिया–नेपालमैत्री समूह गठन भएको जानकारी दिँदै राजदूत तइयोङले नेपालको संघीय संसदले पनि छिट्टै मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गरे । नेपाल विश्वकै दोस्रो ठूलो जनस्रोतको देश भएको बताउँदै उनले जलविद्युत् लगायतका क्षेत्रमा आफ्नो मुलुक लगानी गर्न इच्छुक रहेको जानकारी दिए । 


Author

थप समाचार
x