कूटनीति

ओली–चिनियाँ नेता युआनबीच भेटवार्ता

इकागज |
साउन ९, २०८० मंगलबार १४:५४ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का नेता युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा नेपालका प्रतिपक्ष दलका नेता ओलीसँग चिनियाँ नेता युआनले भेट गरेका हुन् । भेटमा दुई मुलुकबीचको सम्बन्धलाई अझ बलियो बनाएर लैजाने विषयमा छलफल भएको एमाले विदेश विभाग सदस्य गोपाल खनालले जानकारी दिए । त्यस अवसरमा अध्यक्ष ओलीले नेपाल अहिले विकासको प्रयासमा रहेकाले चीन सरकारको अपेक्षित सहयोग महत्वपूर्ण हुने धारणा राखेका थिए भने नेता युआनले नेपाल र नेपाली जनताको विकासको सन्दर्भमा सक्दो सहयोग गर्न चीन सरकार तत्पर रहेको बताएका थिए ।


यता, अध्यक्ष ओलीले चीनले नेपाललाई सधैं प्राथमिकता दिने गरेको भन्दै चीन सरकार र चिनियाँ नेताहरूको प्रशंसा गरेका थिए । त्यस अवसरमा ओली नेतृत्वको सरकारका बेला दुई मुलुकबीचको सम्बन्ध विस्तारबारे भएको प्रगतिको पनि स्मरण गरिएको एमाले विदेश विभाग सदस्य खनालले बताए ।

श्रीलंकाको भ्रमण पूरा गरी गत आइतबार नेपाल आएका नेता युआनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भने अर्चुअल संवाद गरेका थिए । इटली भ्रमणमा रहेका प्रधानमन्त्री दाहालसँग उनको भर्चुअल संवाद भएको थियो । उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

त्यसैगरी नेता युआनले कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितका माओवादी केन्द्रका पदाधिकारी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेलगायतसँग भेट गरी दुई मुलुकबीचको सम्बन्धबारे चासोपूर्वक छलफल गरेका थिए ।


Author

थप समाचार
x