कूटनीति

प्रस्तावित ६ राजदूतको नाम अनुमोदन

इकागज |
साउन १८, २०८० बिहीबार १७:८ बजे

काठमाडौँ- ​संघीय संसदको संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि परराष्ट्र सेवाका ६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले ६ जनाको राजदूतको सुनुवाइ गर्दै सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

सरकारले गत असार २६ गते लोकबहादुर थापालाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रका लागि स्थानीय नियोग, रामप्रसाद सुवेदी (स्वीट्जरल्याण्ड), सुधीर भट्टराई (फ्रान्स), घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर वली (थाइल्याण्ड)का लागि राजदूतमा नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो । सुनुवाइ समितिको कार्यविधि अनुसार योग्यता अनुभवका साथ जिम्मेवारी बहन गर्ने विषयमा प्रस्तावित राजदूतसँग छलफल गरेको र उजुरीहरूमाथि समेत छलफल गरेर अनुमोदन गरिएको समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


त्यसअघि बैठकमा प्रस्तावित राजदूतहरूले दुई मुलुकबीचको कूटनीतिक सम्बन्धलाई अझै प्रगाढ बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए । सुनुवाइ समितिबाट अनुमोदन भएसँगै राष्ट्रपतिले नियुक्त गर्ने बाटो खुलेको छ । 


Author

थप समाचार
x