कूटनीति

गुटेरेसको भ्रमणमा शान्ति प्रक्रियाको एजेण्डा मात्रै प्राथमिकतामा पर्नुले शंका उब्जायो : प्रा.डा. केसी

इकागज |
कात्तिक १३, २०८० सोमबार १३:५५ बजे

काठमाडौँ- अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरूले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषय मात्रै प्राथमिकतामा पर्नुले शंका उब्जाएको बताएका छन् । 

महासचिव गुटेरेसको नेपाल भ्रमणको सम्बन्धमा अन्तर्राष्ट्रिय सम्बन्धका जानकार प्रा.डा. खड्ग केसीले यस भ्रमणमा राष्ट्रिय स्वार्थ भन्दा दलगत स्वार्थलाई प्राथमिकतामा राखिएको बताएका हुन् । 


उनले भ्रमणलाई बहुपक्षिय र राष्ट्रिय स्वार्थमा काम लाग्नेगरी अगाडी सार्नुपर्ने भएपनि त्यसो हुन नसकेको बताए । उनले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषय नेपालको आन्तरिक मामिला भएको भन्दै यसका लागि अन्तर्राष्ट्रिय समुदायलाई गुहार्नु नपर्ने बताए । उनले घरभित्रको मामिलालाई अन्तर्राष्ट्रियकरण गर्दा नेपाललाई फाइदा नगर्ने बताए । उनले संक्रमणकालिन न्याय टुंग्याउने कुरा अब संयुक्त राष्ट्रसंघको अधिकार क्षेत्रभित्र नपर्ने बताए ।

‘शान्ति प्रक्रिया हाम्रो आन्तरिक कुरा हो । हामी अनमिनलाई बोलायौँ । अनमिनले नसकेर हामी आफैँले गरेको हो । यतिखेर अलि रणनीतिक जस्तो पनि मैले अनुभुत गरेको छु कि संयुक्त राष्ट्रसंघको महासचिवले आएर हाम्रो शान्ति प्रक्रियामा टिआरसीलाई उहाँले राम्रो सन्देश दिनुभयो तीन वटा । मानव अधिकार सम्बन्धी विश्वव्यापी मान्यताहरूलाई टिआरसिमा अंगिकार गर्नैपर्छ । सर्वोच्च अदालतको आदेशपनि अक्षरश पालना गर्नुपर्छ'उनले भने 'पीडितको आवाज पनि सुन्नुपर्छ । टिआरसीको कुरा संयुक्त राष्ट्रसंघको अधिकार क्षेत्र भित्रको कुरा होइन हाम्रो आन्तरिक मामिला हो । अर्को गिजोलिने कुरा कहाँ हुनसक्छ भने यदी राजनीतिक नेतृत्वलाई लाग्यो कि हामीलाई इन्फ्युन्स् गर्नका लागि संयुक्त राष्ट्रसंघको महासचिवलाई गुहारियो भन्ने । त्यो ढंगले राजनीतिक नेताहरूलाई रियलाइज भयो, आभाष भयो भने गिजोलिन्छ । किनभने यहाँ नै समाधान खोज्ने हो ।'

'राष्ट्रसंघको महासचिवले आएर उहाँले राजनीतिक नेताहरूलाई भनिदेओस् कि, तपाईहरूले यसरी, यसरी टिआरसी टुंग्याउनुहोस् भनेर अरु शक्ति राष्ट्रको बेला बेलामा आउने डिप्लोम्याट जसरी भन्ने गर्नुहुन्छ नि, हाम्रो आन्तरिक मामिलामा पनि बोल्नुहुन्छ नि । त्यो ढंगले संयुक्त राष्ट्रसंघका महासचिव बोलेको त हामीले सुनेका छैनौँ' केसीले भने 'उहाँले बोलिदेओस् भन्ने एउटा अपेक्षा राखेर त्यो खालको आभाष अर्को स्टेकहोल्डर्सलाई भयो भने, टिआरसी टुंग्याउन किन हारगुहार गर्नुभयो भन्ने अभाष भयो भने गिजोलिने सम्भावना प्रवल हुनसक्छ । तर हामीले गिजोलेर फाइदा त छैन । तर प्रष्ट कुरा के हो भने यो अन्तर्राष्ट्रिय समुदायलाई गुहार्ने कुरा भन्दापनि विश्वव्यापी मान्यताहरूलाई सकारेर घरभित्रै सहमतिको वातावरण निर्माण गर्नुपर्ने प्राथमिक विषय हो ।'

'नेपालको राष्ट्रिय स्वार्थ भन्दापनि दलगत स्वार्थलाई प्राथमिकतामा राखेर संयुक्त राष्ट्रसंघमा प्रतिनिधित्व गर्ने हाम्रा कुटनीतिक संयन्त्रहरूलाई पनि, त्यो कुरालाई मात्र प्राथमिकतामा राखेर तयारी गर्न निर्देश गरिएको जस्तो मैले अनुभुत गरे । उहाँको भ्रमण नेपालमा हुँदा एउटा मात्रै एजेण्डा पस्किने कुरा रणनीतिक रुपमा शंका गर्ने ठाउँ छ । सकेसम्म हामीले यो भ्रमणलाई बहुपक्षिय, नेपालको राष्ट्रिय स्वार्थमा काम लाग्ने खालका कुराहरू अगाडी सार्ने तयारी गरिनुपर्थ्यो' उनले भने 'हतारमा त्यो खालको नगरिएको कारणले गर्दा नै थप शंका गर्ने ठाउँहरू छ । तर संयुक्त राष्ट्रसंघको महासचिवलाई सम्मान गर्ने कुरामा कुनै कमी गर्नु भएन । त्यो संस्था हाम्रो अत्यन्त महत्वपूर्ण हो । तर घरभित्रको कुरालाई धेरै अन्तर्राष्ट्रियकरण गर्ने कुरालाई मलाई लाग्छ, त्यो गर्ने पक्षलाई पनि प्रकारान्तरमा वैधता खोज्ने त घरभित्रै हो । त्यति फाइदा गर्छ जस्तो लाग्दैन मलाई ।’

उनले महासचिव गुटेरेसको नेपाल भ्रमणमा तयारी अपुग भएको टिप्पणी गरे । नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा दिएको योगदानको सम्बन्धमा कुराकानी हुनुपर्नेमा त्यस्तो हुन नसकेको उनको भनाई छ । यस भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एकल एजेण्डालाई प्रश्तुत गरेको उनले बताए ।

‘हतारमा कुनै निश्चित उद्देश्यका लागि मात्रै भन्ने हिसावले हाम्रा कुटनीतिज्ञहरू, हाम्रा राजनीतिक नेतृत्वले हतारमा गरेको तयारी जस्तो अनुभुत भइरहेको छ । जति महत्वपूर्ण ढंगले हाम्रा एजेण्डाहरू संयुक्त राष्ट्रसंघमा हामीले सुरक्षा परिषद्को अस्थायी सदस्य भयौँ, अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ हामीले जस्तो भुमिका खेलिरहेका छौँ । त्यसमा हामीले के स्टेक पाउनुपर्छ भनेर गृहकार्य गरिनुपर्थ्यो त्यो बाहेक खालि वर्तमान सरकारको नेतृत्व गर्नुभएको प्रधानमन्त्रीको आफ्नो एकल एजेण्डालाई अलि बढी प्रभाव पार्ने हिसावले प्रश्तुत गरिएको कुरा' उनले भने 'हाम्रो कुटनीतिक संयन्त्रले पनि त्यसैमा काम गर्‍यो होला । राजनीतिक नेतृत्वले जस्तो निर्देशन दियो त्यस्तै काम गर्‍यो होला । जसरी बहुपक्षिय कुटनीतिक नेतृत्व हामीकहाँ आयो त्यो नेतृत्वलाई जसरी हाम्रो कुरा बुझाउनुपर्थ्यो त्यो ढंगको तयारी भएको अनुभुत मलाई भएको छैन ।’

प्रा.डा. केसीले यस भ्रमणका क्रममा भूपरिवेष्ठित राष्ट्रहरूले पाउनुपर्ने सामुन्द्रिक हकको सम्बन्धमा कुरा उठाउनुपर्नेमा जोड दिए । त्यस्तै नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गरेपनि नेपाली सेनालाई नेतृत्वदायी भुमिका नदिइएकोप्रति पनि नेपाली पक्षले कुरा उठाउनुपर्ने बताए । त्यसैगरी नेपालको सगरमाथा क्षेत्रमा जलवायु परिवर्तन सम्बन्धी अध्ययन केन्द्र बनाउनुपर्ने विषयलाई नेपालले प्रश्तावको रुपमा राख्न सकेमा महासचिव गुटेरेसको भ्रमणको विश्वव्यापी सन्देश जाने धारणा उहाँले व्यक्त गरे ।

‘हाम्रो लागि संयुक्त राष्ट्रसंघ अत्यन्तै महत्वपूर्ण संस्था हो । हामीले जहिल्यै पनि संयुक्त राष्ट्रसंघलाई उच्च महत्व दिनुपर्छ । हामीले संयुक्त राष्ट्रसंघसँग गर्ने कुराहरू चाहीँ प्रशस्तै थिए । अल्पविकसित मुलुकबाट हामी ग्राजुएट हुने सपना देखिरहेका छौँ । भूपरिवेष्ठित राष्ट्रले पाउने सामुन्द्रिक हकहरूको बारेमा १९८० मा ल अफ द सि को कन्भेन्सनमा कुरा उठायौँ । त्यसपछि धेरै पछि नेपालका कुराहरू मुखरित भइरहेको अवस्था छैन । अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपालले गरेको योगदान बापत नेपाली सेनाले जति योगदान गरेको छ, त्यो योगदान बापत लिडरशिपमा हामी जहिलेपनि खास अवसर पाइरहेको अवस्था छैन' उनले भने 'त्यसमा नेपाल सरकारले, नेपालको राजनीतिक नेतृत्वले त्यो एजेण्डा उठाउनुपर्ने थियो । जलवायु परिवर्तनको एजेण्डामा पनि हाम्रो तयारी कति छ ? हामीले सगरमाथा संवादको कुरा शुरु गरेका थियौँ । सरकार परिवर्तनपछि हराएको छ । नेपाललाई जलवायु परिवर्तनको ठूलो अध्ययन सगरमाथाको छेउछाउमा विश्वलाई नै सन्देश दिने खालको एउटा केन्द्र बनाऔँ भनेर नेपालले प्रस्ताव गरेको भए यो भ्रमणको विश्वव्यापी रुपमा फरक ढंगको सन्देश जान सक्थ्यो । त्यो कुरा आझेलमै छ ।’

उनले नेपालका लागि संयुक्त राष्ट्रसंघ महत्वपूर्ण संस्था रहेको उल्लेख गर्दै महासचिवको नेपाल भ्रमणलाई अत्यन्त महत्वका साथ हेर्नुपर्ने बताए । महासचिवको भ्रमणमा शंका गर्ने ठाउँहरू रहेपनि उहाँलाई गर्नुपर्ने सम्मानमा भने कुनै कमी हुन दिनु नहुने प्रा.डा. केसीले बताए ।


Author

थप समाचार
x