कूटनीति

भाषा परीक्षा विवाद सम्बन्धमा कोरियाली राजदूतसँग छलफल

इकागज |
पुस १७, २०८० मंगलबार २०:३३ बजे

काठमाडौँ - रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफल गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी र नेपालका लागि कोरियाका राजदूत पार्कबीच आज मन्त्रालयमा उक्त विषयमा छलफल भएको हो । छलफलमा नेपाली टोलीले उक्त घटनाका सम्बन्धमा कोरियाली पक्षलाई जानकारी गराएको थियो ।


सो क्रममा पानी जहाज बनाउने (सीप बिल्डिङ) का लागि नेपाली युवालाई फारम भर्न दिने सरकार र अदालतको निर्णयबारे कोरियाली पक्षलाई जानकारी गराइएको श्रम मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले बताए । नेपाली पक्षले उक्त निर्णयलाई स्वीकार गरेर अगाडि बढ्न कोरियाली पक्षसँग प्रस्ताव गरेको उनको भनाइ छ ।

नेपालले राखेका प्रस्तावलाई कोरियाली पक्षले सकारात्मकरुपमा लिएको मन्त्रालयका सहसचिव पोखरेलले जानकारी दिए । इपिएस प्रणालीमा देखिएका विविध समस्यालाई दुई देशको प्राविधिक टोलीले टुङ्ग्याउने उनको भनाइ छ । यसका लागि चाँडै नै प्राविधिक टोलीको बैठक बस्ने बताइएको छ ।  

दक्षिण कोरियाले इपिएस प्रणालीअन्तर्गत विभिन्न १६ वटा मुलुकबाट विदेशी श्रमिक लैजाँदै आएको छ । नेपाली युवाका लागि कोरिया आकर्षक श्रम गन्तव्यका रुपमा छ । कोरियामा रोजगारीका लागि बर्सेनि लाखौँ नेपालीले भाषा परीक्षाका लागि आवेदन दिने गरेका छन् । हाल एक लाख ७५ हजार नेपाली नागरिक कोरियन भाषा परीक्षा उतीर्ण गरी कोरिया जाने प्रतीक्षामा रहेको मन्त्रालयले जनाएको छ । 

सो अवसरमा कोरियाली पक्षले गत शुक्रबार बालकुमारीमा भएको घटना दुःखद् भएको जनाउँदै कोरिया सरकारका तर्फबाट मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको थियो । 


Author

थप समाचार
x