कूटनीति

नेपालका मन्त्री भारतमा पुगेर कुरा राख्दासमेत नेपालीले सिमकार्ड पाएनन्

अतिन आचार्य |
माघ ४, २०८० बिहीबार ८:० बजे

काठमाडौँ- झण्डै एक वर्षअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा भारत पुगिन् । अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियनको कार्यक्रममा भाग लिन पुगेकी थिइन् । नेपाली टोलीको नेतृत्व गर्दै उनी नयाँदिल्ली पुग्दा नेपालीहरूले भारतीय सिमकार्ड प्रयोग तथा खरिद प्रक्रिया झन्झटिलो भएको आवाज उठाए ।

त्यहाँ उनले आफ्ना समकक्षी र सञ्चार मन्त्रालयका उच्च अधिकारीहरूसँग नेपालीले भारतीय सिमकार्ड खरिद गर्न नपाउने विषयमा छलफल गरिन् । शर्माले भारतमा रहेका नेपालीहरूले सिमकार्ड खरिदमा भोगेको समस्याको बारेमा कुरा उठाइन् ।


उनी भारत पुगेर आएको एक वर्ष पुग्न लाग्दा पनि नेपालीले सहजै सिमकार्ड पाउन सकेका छैनन् । आजको मितिसम्म भारतमा छोटो समयका लागि पुगेका नेपालीले सिमकार्ड खरिदमा उत्तिकै समस्या भोगिरहेका छन् ।

नेपाल सरकार तथा परराष्ट्र मन्त्रालयले नेपालीले भारतमा सहजै सिमकार्ड खरिद गर्न पाउनका लागि पहल नगर्दा कयौँ नेपालीले सास्ती भोगिरहेका छन् ।भारतस्थित नेपाली दूतावासले पटक-पटक प्रयास गरेको भनिए पनि सिमकार्ड सहजै नेपालीले पाउन सकेका छैनन् । परराष्ट्र मन्त्रालयले नेपालीले सिमकार्ड पाओस भन्नका लागि तदारुकता नदेखाउँदा उपचारका लागि पुगेका मानिसहरू पीडा भोग्‍न बाध्य छन् ।

धेरै नेपालीहरू भारत उपचार, अध्ययन, रोजगारीको र व्यापारको शिलशिलामा जाने गरेका छन् । अधिकांश नेपालीहरूले आफ्नो परिचयपत्र देखाउँदा पनि सिमकार्ड प्रयोग खरिद गर्न पाउँदैनन् । नेपालीलाई भारतीय साथीहरूले उपलब्ध गराएको र आधार कार्ड पाएका नेपालीले मात्र सिमकार्ड प्रयोग गरिरहेका छन् ।

टेकुका व्यवसायी श्याम मण्डल गाडीका पार्टपुर्जा लिन भारत गइरहन्छन् । भारत गएपनि उनले अहिलेसम्म भारतीय सिम खरिद गरेका छैनन् । रहरले नभइ बाध्यताले सिमकार्ड खरिद गर्न नपाएको उनले बताए ।

‘भारतमा पुगेर नेपालीले सिमकार्ड खरिद गर्न नपाउने व्यवस्था छ । सिमकार्ड धेरै पटक खरिद गर्न खोजे पनि अहिलेसम्म पाएको छैन,’ उनले भने,’ होटलमा बस्दा ह्वाट्सएप र भाइबरमार्फत नेपालका आफन्तसँग कुरा गर्छु । कार्ड पाएमा यात्रा गर्दा पनि इन्टरनेट चलाउने सकिन्थ्यो ।‘

नेपाल सरकारले भारतमा सिमकार्ड खरिद गर्न पाउने सम्झौता गरेमा भारत ओहोरदोहोर गरिरहने व्यापारी तथा रोजगारीमा पुगेकालाई सहज हुने मण्डलको भनाइ छ ।

त्यसैगरी, नेपालमा झन्डै ६ लाख भारतीयहरूको बसोबास छ । लामो समयदेखि बस्दै आएका व्यक्तिहरू, व्यवसायीहरू र निर्माण तथा अन्य रोजगारका क्षेत्रमा कार्यरत श्रमिकहरू पर्छन् । तर, उनीहरूले भने सहजै सिमकार्ड पाउने गरेका छन् । आवश्यक परिचयपत्र देखाएमा विमानस्थल नेपाल प्रवेश गर्ने नाकाबाट सहजै सिमकार्ड पाउँछन् ।

नेपाल भ्रमणमा आउने पर्यटकमध्ये सबैभन्दा ठूलो सङ्ख्या भारतीयहरूकै छ । धार्मिक पर्यटक बढी हुने गरेका छन् । उनीहरू पशुपति, लुम्बिनी तथा मुक्तिनाथ दर्शन गर्न पुग्छन् ।

नेपालमा रहेका भारतीय वा घुम्न आउने पर्यटकहरूले सहजै नेपाली सिमकार्ड पाउने गरेका छन् ।  नेपाल टेलिकमका अनुसार भारतीयले आधार कार्ड वा आफ्नो राहदानीका आधारमा सिमकार्ड प्राप्‍त गर्छन् । तर, भारत पुगेका नेपालीले आफ्नो परिचय खुल्ने कार्ड देखाए पनि भारतीय सिमकार्ड पाउने गरेका छैनन् ।

पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले भारतले आफ्नो मुलुकको सुरक्षाको कारण देखाउँदै विदेशी नागरिकलाई सिमकार्ड बिक्री-वितरणमा प्रतिबन्ध लगाएको हुन सक्ने बताए ।

‘पहिले भारतले नेपालीलाई सिमकार्ड बिक्री गर्दथ्यो । पछिल्लो समय सुरक्षाको कारण देखाउँदै सिमकार्ड बिक्री वितरणमा रोक लगाएको छ,’ उनले भने,’ सिमकार्ड प्राप्त गर्न धेरै गाह्रो रहेको छ । ‘

नेपाल र भारतको सिमकार्ड बिक्री वितरणमा रोक लगाउने गरी द्धिपक्षीय सम्झौता नभएको थापाको भनाइ छ । भारतीयले नेपाल प्रवेश पाउनसाथ सिमकार्ड खरिद गर्न पाउने व्यवस्था रहेको डा. थापाले बताए । अध्ययन र व्यापारका लागि पुगेका नेपालीले सिमकार्ड नपाउँदा समस्यामा परिरहेको उनको भनाइ छ ।

‘भारतले सिमकार्ड विदेशीलाई चलाउन दिने या नदिने उसको निजी मामिला कुरा हो,’ उनले भने,’ अरू देशले सिमकार्ड प्रयोग बारेमा नीति नियम बनाएका हुन्छन् । त्यही भएर सीम कार्ड सम्बन्धी एउटा सीमा निर्धारण भएको हुन सक्छ ।‘

परराष्ट्र मन्त्रालयका सूचना अधिकारी ऋषिराज आचार्यले भारतले आफ्नै नियम बनाएकाले अन्य देशका नागरिकले सिमकार्ड खरिद गर्न नपाएको हुन सक्ने बताए । भारतले कसरी त्यस्तो नियम बनायो थाहा भएन । अरू मुलुकको नीति नियमका बारेमा हामीले बोल्न नहुने उनको भनाइ छ ।

नेपालीलाई भीसा आवश्यक नपर्ने भएकाले पासपोर्ट, नेपाली नागरिकता वा सरकारले जारी गरेको अन्य कुनै परिचयपत्रका आधारमा सिमकार्ड दिने व्यवस्था गरिदिन दूतावासले विदेश मन्त्रालयलाई पत्राचार गरेको दूतावासका डेपुटी चिफ मिसन डा. सुरेन्द्र थापाले जानकारी दिए ।

‘नेपाली नागरिकलाई पासपोर्ट र नागरिकता छ भने सिमकार्ड सहजै उपलब्ध गराउन भनेका छौँ । दूतावासको अनुरोधलाई उहाँहरूले सकारात्मक लिनु भएको छ,’ उनले इकागजसँग भने,’ भारत सरकारले सम्बन्धित टेलिकम कम्पनीलाई निर्देशन दिन्छ होला ।‘

भारतीय पक्षको कुरा सुन्दा नेपालीले अबको एक-डेढ महिनामै सिमकार्ड पाउन सक्ने उनले बताए । भारतीय पक्षसँग राजदूत शंकरप्रसाद शर्मा निरन्तर सम्पर्कमा रहेको उनको भनाइ छ । 

भारतमा लामो समयदेखि बसेर काम वा व्यवसाय गरिरहेका  र आधार कार्ड बनाएका नेपालीले भने सिमकार्ड सहजै पाउँछन् । लामो समय बसेका विदेशीले पनि आधार कार्ड लिन पाउँछन् ।

लामो समयदेखि भारतमा नेपालीले सिमकार्ड पाइरहेको थापाले बताए । यात्रा, भ्रमण, उपचार तथा धार्मिक भ्रमणका लागि आउनेहरूले सिमकार्ड सहजै पाउने गरेका छैनन् ।

‘छोटो समयका लागि आउने नेपालीले सिमकार्ड पाएका छैनन्,’ उनले भने,’ सिमकार्ड माग्दा भारतको टेलिकमले दुई वटा कुरा माग्छ । विदेशीलाई भिसा र भारतीय भए आधार कार्डको माग गर्छ ।‘

उनका अनुसार विदेशीले सिमकार्ड प्राप्‍त गर्न पासपोर्ट र भिसा चाहिन्छ । भारतीयले आधार कार्ड देखाएर पाउँछन् । छ महिनाभन्दा बढी बसेका विदेशीले आधार कार्ड पाउछन् ।

भिसा भएका नागरिकले तुरुन्त सिमकार्ड पाइरहेको उनले जानकारी दिए । नेपालीसँग भिसा नभएकाले सिस्टमले नचिन्दा सिमकार्ड पाउन गाह्रो भइरहेको थापाको भनाइ छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x