कूटनीति

नेपाल-भारतबीचको प्रगाढ सम्बन्ध कायमै राख्नुपर्नेमा जोड

इकागज |
असार १३, २०८१ बिहीबार २१:२४ बजे

कास्की- नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई नेपाल–भारतबीचको प्राचीन सम्बन्धलाई कायमै राख्नुपर्नेमा जोड दिएका छन् । 

पोखरा-१२ रामघाटस्थित अमरसिंह माविको आज अवलोकन गर्दै राजदूत श्रीवास्तवले विद्यालय भवन निर्माणका लागि दूतावासले रु २० करोड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 


भारतको रक्षाका लागि गोर्खा सैनिकहरूको योगदान रहेको स्मरण गर्दै उनले नेपालमा भारतीय भूपु नेपाली सेनामार्फत विभिन्न  खानेपानी, शिक्षा, स्वास्थ्य र सडकलगायत क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । 

नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई बलियो बनाउन आफू प्रतिबद्ध भएको बताउँदै नेपालमा प्रवेश गर्ने सडकको स्तरोन्नति गर्दै पर्यटकलाई सहज रूपमा यातायातको व्यवस्था मिलाउन आफूले भूमिका खेल्ने पनि उल्लेख गरे । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शेरबहादुर थापा तथा वडा नं १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले आफ्ना भनाइ राखेका थिए । 

नेपालकै नमुना माविका रूपमा परिचित अम्मरसिंह माविमा दुई हजार नौ सय विद्यार्थी अध्ययनरत छन् भने एक सय ३७ शिक्षक कर्मचारी छन् । दुई सयभन्दा बढी रोपनीमा फैलिएको उक्त विद्यालय पोखराकै पुरानो विद्यालयका रूपमा चिनिन्छ । नेपाल–भारत मैत्री सङ्घअन्तर्गत मेजर वीरसिंह गुरुङको पहलमा दूतावासले ५५ वर्षअघि विद्यालयका भवन निर्माण गर्नुका साथै केही वर्षअघि पुस्तकालयको भवन र पुस्तक हस्तान्तरण गरेको थियो ।


Author

थप समाचार
x