कूटनीति

रुसी सेनामा रहेका ३४ नेपालीले ज्यान गुमाए, युक्रेनमा ६ जना बन्दी

इकागज |
साउन ९, २०८१ बुधबार १५:५१ बजे

फाइल फाेटाे

काठमाडौँ - परराष्ट्रमन्त्री आरजु राणाले रुसी सेनामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि निरन्तर कूटनीतिक पहल भइरहेको जानकारी दिएकी छिन् । 

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा मन्त्री राणाले रुसी सेनामा ज्यान गुमाएकाको संख्या ३४ जना रहेको र युक्रेनमा ६ जना बन्दी रहेको जानकारी दिइन् । उनले रुसी सेनामा रहेका अन्य नेपालीलाई छिटो स्वदेश फर्काउनका लागि कूटनीतिक पहल भइरहेको बताइन् । 


युक्रेन–रुसमा क्रममा बन्दी बनाइएका मध्ये एक जनालाई एक्सचेन्ज लिष्टमा राखिसकेको उनले जानकारी दिइन् । मन्त्री राणाले बेपत्ता भएका विपिन जोशीको सम्बन्धमा उद्धारका लागि नेपाल सरकारले निरन्तर कूटनीतिक पहल गरिरहेको बताइन् । 

उनले बंगलादेशको हिंसाका कारण समस्यामा परेका नेपालीहरूलाई समयमा नै उद्धार गर्न सफल भएको धारणा राखिन् । हालसम्म बंगलादेशबाट करिब १७ सय नेपाली विद्यार्थीहरू फर्किसकेको उनको भनाइ छ । 

त्यस्तै परराष्ट्रमन्त्री राणाले बीआरआइ परियोजनाको कार्यान्वयनका विषयमा छलफल हुन बाँकी रहेको जानकारी दिँदै देशको हितमा मोडालिटी तय गर्दै आवश्यक निर्णय लिइने धारणा राखिन् । 


Author

थप समाचार
x