समाज

‘रुसमा लागेको बमकाे छर्रा बोकेर देश घुमिरहेको छु’ (भिडियाेसहित)

‘सरकारले शव ल्याउन त सक्दैन जिउँदोलाई कसरी फर्काउँछ’

शुरज थपलिया |
माघ २५, २०८० बिहीबार १७:३७:१२ बजे

काठमाडौँ - रुसी सेनामा ६ महिनासम्म बसेका दिपक नेपाल यतिखेर स्वदेशमा छन् । बाराका दिपक दुई महिना अघि नेपाल फर्किएका हुन् । सेनामा रहँदा दुई वटा युद्ध देखेका र भोगेका उनी घाइते अवस्थामै स्वदेश फर्किए । युक्रेनविरुद्ध युद्ध लड्दा घाइते भएका उनले शरीरमा चिनो बोकेर फर्के।

घाइते भएका उनी मस्कोमा लामो समय उपचारमै रहे । अन्ततः उनलाई घर परिवारको मायाले तान्यो । एक्लो शरीर मात्र फिरेन साथमा युद्धका चिन्हहरू पनि उपहारस्वरुप ल्याएको उनले बताए ।


‘घाइते छु गोली बोकेर बसेको छु । आगामी दिन कस्ता आउने हुन् सोच्दै चिन्ता लागेको छ’, उनले भने । दुई छोरी, एक छोरा र श्रीमती, वृद्ध आमा बुबाको जिम्मेवारी उनकै काँधमा छ । तर, दिपक भने पहिले जस्तो सग्ला छैनन् । उनी उपचारको पर्खाइमा छन् । उपचार कहाँ कसरी कैले गर्ने केही मेसो पाउन सकेका छैनन् ।

सन् २०२३ अक्टोबरको युद्धमा दिपक घाइते भए । युक्रेनले हानेको बमको छर्रा र गोली उनको शरीरमा लाग्यो । उनले तत्काल सामान्य उपचार पाए । पाँच दिनको ट्रेन यात्रामा उनी मस्को पुगे । सरकारी अस्पतालमा उनले उपचार पाए ।

घाइते भएको उनको परिवारमा थाहा थिएन । ‘पीर माथि पीर किन दिनु भन्ने लाग्यो भन्न आँटै आएन’, उनले अस्पताल बस्दाको दिन सम्झँदै भने, ‘तर मनमा परिवारको माया भने धेरै थियो ।’

अस्पतालमा बस्दा उनलाई परिवारको धेरै माया लागेको थियो । यादले सताउँथ्यो।  केही दिनको अस्पताल बसाईपछि उनलाई परिवार सम्झेर न्यास्रो लाग्यो ।  युद्धको भयावह अवस्था देखेका उनलाई फेरि फर्केर युद्धमा जाने आँटै आएन । रुस बसे युद्धमा जानैपर्ने बाध्यता थियो । 'रुसी सेनाले खोजी खोजी युद्धमा लान्थे । कोही लुक्न पाउने अवस्था नै थिएन', उनले भने ।

नेपालको सशस्त्र द्वन्द्व जस्तै सोचेर रुस पुगेका उनले त्यहाँ डरलाग्दो युद्ध भोगे । आकाश, जमिन जताततैबाट गोली र बम आउँथे, मान्छे देखिन्नथे ।

नेपालको माओवादी द्वन्द्व जस्तो सोचेर रुस पुगेका थिए उनी । दुई चार जना शत्रु त मार्छु एक वर्ष त खाल्डोमा लुकेर भएपनि पीआर लिएर आउँछु भन्ने सोचेको थिएँ, उनले विगत सम्झँदै भने । तर, त्यहाँको युद्ध दिपकले सोचेको जस्तो भएन । ‘युद्धको दर्दनाक अवस्था कल्पना पनि गर्न नसकिने रहेछ । यहाँको जस्तो एक छेउ पनि लागेन’, उनले भने । 

उनले ६ महिना रुसमा बस्दा आफैँलाई धेरै माया गरे । ‘मलाई केही भयो भने परिवारको अवस्था के होला ?’ यही कुराले उनलाई सताउँथ्यो । पैसा कमाउन पुगेका उनी युद्धमा हाम फाल्न पुगे । युद्धकै दौरानमा पैसा नै सबै होइन रहेछ भन्ने पनि सोचे । एक वर्षमा पिआर पाइने लोभमा रुस पुगेका उनी ६ महिनामै घर फर्कने बाटो खोज्न थाले । 

के गर्यो नेपाली दूतावासले ?

रुसमा रहेको नेपाली दूतावासमा दिपक स्वदेश फर्कने चाँजोपाँचो मिलाउन पुगे । ‘विदेशमा दूतावास भनेको आमा बुबा भेटे जस्तै हुन्छ नि’, उनले अनुभूति सुनाए । तर, त्यहाँ पुगेपछि उनले फरक व्यवहार भोगे । उनी बिचरा भए । निरीह बने, असहाय जस्ता भए ।

उनले आफू नेपाल फर्कन चाहेको र सहयोग गर्न आग्रह गरे । आफूलाई गोली र बमको छर्रा लागेको अवस्थासमेत जानकारी गराए । शरीरमा गोलीको छर्रा छ भनेपछि दूतावासका कर्मचारीले नेपाल पठाउनै नसकिने बताए । उनी निराश भए । ‘परदेशमा दूतावास त घर जस्तो हुन्छ तर दूतावासले केही सहयोग नै गर्न सकेन’ उनी भन्छन्,’ मलाई आफ्नो देश र दूतावास देखेर दिक्क लाग्यो ।’

उनी दूतावास तीन हजार रुसी पैसा खर्च गरेर पुगे । उनी उपचाररत सिटीबाट एक दिने ट्रेनको यात्रामा नेपाली दूतावास पुगिन्थ्यो । उनलाई दूतावासले ट्राभल डकुमेण्ट बनाउन सक्ने तर पासपोर्ट बुझाउन पर्ने शर्त राख्यो । उनले मानेनन् । उनी निराश र हतास बनेर साँझ आफू बसेकाे स्थान फर्के ।​

दिपकलाई घर फर्कनुनै थियो । भिजिट भिसामा पुगेका उनले एक्लै फर्कनुपर्छ भन्ने अठोट गरे । उनी एकदिन अध्यागमन विभाग गएर सबै कुरा अनुगमन गरे । कसरी जान सकिन्छ भनेर अनुसन्धान गरे ।

उनले नेपाल फर्कन् दलालको सहारामा सबै डकुमेण्ट तयार गरे । एयरपोर्टमा सामान्य सोधपुछ भयो । एयरपोर्टबाट सिधैँ उनी नेपालका लागि उडे ।

उनी रुसी सेनामा रहँदाको युद्ध अनुभव त सुनाउँछन् नै आफू जस्तै नेपाली दाजुभाइ दिनकै मरेको खबर सुन्दा दुःखी पनि छन् । ‘यहाँ आएर साथीभाईलाई नजाउँ भन्यो भने तैँले पो टन्न पैसा कमाइस् अनि यसो भन्छस् भन्छन्, तर त्यहाँ दर्दनाक अवस्था छ’, उनले युद्ध सम्झिँदै भने ।

उनले सरकारसँग पनि आक्रोश पुगे । ‘स्वदेशमा नै राम्रो रोजगारको अवस्था भएको भए कोही रुस, अफगानिस्तान र इराक पुग्ने थिएनन्,’ उनले आक्रोशित हुँदै भने, ‘त्यसमा हाम्रो राजनीतिक दल र सरकार चलाउनेहरू दोषी छन् ।’

सरकारले पछिल्लो समय रुस गएकालाई स्वदेश फर्काउन पहल गर्ने बताइरहेकाे छ । तर सरकारले गरेको पहलप्रति दिपक एक रतिपनि विश्वास गर्दैनन् । उनी भन्छन्, ‘शव ल्याउन त यो सरकारले सक्दैन, जिउँदो मानिस कसरी ल्याउँछ ?’

उनले परराष्ट्रमन्त्रीले गरेको भाषण र रुसमा रहेका दूतावासका कर्मचारीले गरेको व्यवहार पटक्कै मेल नखाने बताए । ‘यहाँ मान्छे फर्काउन पहल गर्छौ भन्नुहुन्छ, उता फर्कन चाहनेलाई फर्कने वातावरण नै बनाउँदैनन्, के कर्मचारीहरू तलब खान मात्रै बसेका हुन त्यहाँ’ उनले आक्रोश पोखे ।

के चाहन्छन् दिपक ?

पूर्व नेपाली सेना दिपक ७० सालमा सेनाको जागि छाडेर दुबई प्रहरीमा आबद्ध हुन पुगे । ६ महिनाअघि घर फर्कँदा नेपालमा रहेको रुसी दूतावासमा युवाको भीड देखे ।

उनले आकर्षक तलब र पीआरको कुरा सुने । त्यही लोभका भिजिट भिसामा  रुस हान्निए । उनको लोभले अन्तत आफैंलाई हानी गर्यो । उनी स्वदेश फर्किए । उनी एक अर्थमा भाग्यमानी पनि ठान्छन् । उनी जस्तै रुसी सेनामा कार्यरत १२ नेपालीले ज्यान गुमाइसकेका छन् ।​

दिपक आफ्नो शरीरको गोली निकाल्न चाहन्छन् । तर उनीसँग शल्यक्रिया गर्ने खर्च छैन । उनी फर्केपछि अस्पताल जचाँउनसमेत गएका छैनन् । भएको केही पैसा परिवारका लागि खर्च गर्नुपर्दा उनले आफ्नो लागि केही गर्न सकेका छैनन् । ‘सरकारले उपचार गर्दे हुने’ उनी अपेक्षा राख्छन् ।

भिडियाे

रूसी सैनिक दीपकको युद्ध अनुभव : साथीलाई पुरेर हिँड्नुपर्दा सम्हालिन गाह्रो हुँदो रहेछ

 


Author

थप समाचार
x