समाज

रूसी सैनिक दीपकको युद्ध अनुभव : साथीलाई पुरेर हिँड्नुपर्दा सम्हालिन गाह्रो हुँदो रहेछ

दुर्गा आचार्य |
मंसिर २३, २०८० शनिवार ८:३६ बजे

काठमाडौँ- बाराका दीपक अधिकारी नेपाली सेनामा थिए । उनी मासिक तलबले आफ्नो परिवारको दुःख सुख गर्जो टारिरहेका थिए । दुई सन्तानसहितको परिवारको आवश्यकतालाई पनि पुर्‍याउँदै आइरहेका थिए ।

परिवार बढेसँगै आवश्यकता पनि बढ्दै गएको थियो । जागिरको कमाइले परिवार धान्न गाह्रो बन्दै गयो उनलाई । जागिरभन्दा आफैँ केही गर्ने सोच बनाए । अन्ततः जागिर छाड्ने निधोमा पुगे ।


दीपकले सेनामा रहँदा जे सोच्थे त्यो भने पुरा गर्न सकेनन् । परिवारको जिम्मेवारी र चुनौती थपिँदै गयो । बिस्तारै उनलाई परिवार धान्न गाह्रो हुँदै गयो । काम खोजे तर भनेजस्तो भेटेनन् ।

स्वदेशमा भनेजस्तो रोजगार नभेटिएपछि उनी वैदेशिक रोजगारमा जाने सोचाइले भौतारिन थाले । कहिले म्यानपावर त कहिले एजेन्टसँग पुग्न थाले । अन्ततः उनी जागिर छाडेको केही समयमा वैदेशिक रोजगारीका लागि कतार पुगे ।

कतारको निजी कम्पनीको सुरक्षा गार्डमा काम पाए । दीपकको मासिक कमाइ राम्रै थियो  । बिस्तारै परिवारमा निभ्न लागेको चुल्हो पुनः बल्न थाल्यो । बेला-बेलामा छुट्टिमा पनि घर आइरहन्थे उनी । 

नेपाल आएपछि हरेकपटक साथीहरूसँग भेटघाट पनि गरिरहन्थे । पछिल्लो समय नेपाल आएको समयमा उनले रसियन सेनामा नेपाली भर्तीबारे गाइँगुइँ सुने । 

आकर्षक तलब एक वर्षमै पिआर पाउने लोभले उनलाई तान्यो । पिआर पाए सपरिवार उतै बस्न पाइने लोभले उनलाई रसियाप्रति मोह बढ्दै गयो । परिवारका लागि दु:ख गर्दा छोराछोरीको भविष्य बन्ने आशामा रसिया जाने सोच बनाएर गएको उनी बताउँछन् । आफ्नो र परिवारको भविष्य बनाउने आशामा दीपक पाँच महिनाअघि एक सातामै रसिया उडे । परिवारसँग बस्ने रहर र मनलाई अमिलो पार्दै उनले घरको आँगन छाडे । ‘बाध्यता र परिवारको खर्च धान्न नसक्दा नेपाल बस्न सकिनँ,’ उनले इकागजसँग भने । 

नेपालमा कामको अवसर छैन । भएका अवसर पनि धेरै युवाका हातमा पर्दैन । तिनैमध्येका प्रतिनिधि युवा हुन् दीपक। न्यून आय भएको रोजगारीले आफ्नो आवश्यकता पूरा गर्न नसकिने उनले बताए ।

उनी रसिया पुगेको पाँच महिना मात्रै भयो । नेपाली सेनामा रहँदा  युद्ध थाहा पाएको तर भयानक युद्ध भने देखेका थिएनन् उनले । युद्ध नदेखेका उनले युद्ध देखेनन् मात्रै भोगे पनि ।  

रसिया-युक्रेनको प्रत्यक्ष युद्ध देखे । युद्धमा रहँदा घर परिवार र नेपालको सम्झना उनलाई आइरहन्थ्यो । ‘युद्धले गर्दा होला झन् आफ्नो परिवार र देशको माया लाग्दै गयो,’ उनले भने । 

अक्टोबर-२ मा युक्रेनको राजधानी खार्किभ नजिकै युद्धका लागि हिँडेका रसियन सेनासँगै १५ जनाको नेपाली टोलीले युक्रेनी सेनासँग युद्ध लड्यो । रसियादेखि ६ सय किलोमिटर टाढा पुगेका उनले युद्धमा रहँदा नेपाली र रसियन साथी पनि गुमाए । 

उनले युद्धमा खान पाएनन् न त  सुत्न पाए । जंगलमा पानी लहरो र जडीबुटी खाएर बस्थे । 'जंगलमा गोली चल्थ्यो, बम पड्कन्थे, भोक र निद्रा सबैथोक हराएको थियो,’ उनी सम्झन्छन् । 

युद्धमा प्रयोग गरिने ट्यांकले खाना ल्याउँथे । हप्तौंसम्म ट्याकं आउँदैनथ्यो । टयांक नआउनु भनेको खान नपाउनु थियो । ‘वनमा पानी लहरोबाहेक केही पाइँदैन थियो । माटोसमेत कोपरेर खानुपर्ने अवस्था आएको थियो,’ युद्धमा रहँदाको क्षण सम्झँदै उनले इकागजसँग भने । दीपकले धेरै दिन पानी  लहरो खाएरै भोक मेटाए । ‘भयावह युद्ध देख्दा बाँच्नु नै ठूलो कुरा लाग्ने रहेछ,’ लामो स्वर तान्दै भन्छन्, 'घमासान युद्धपछि बिहान ४-५ बजेतिर युद्ध मत्थर हुन्थ्यो, बल्ल बाँचियो भनेर लामो सास फेर्थेँ ।'

घाइते सैनिकलाई खोजेर उपचारका लागि पठाउने काम पनि गरे दीपकले । 'युद्धमा मारिएका सेनाको मृत्यु उज्यालो भएपछि मात्रै थाहा हुन्थ्यो । सँगै गएका साथीहरू कहिल्यै नफर्कने भइसकेका हुन्थेँ,' युद्धका क्षण सम्झिँदै उनले भने ।

परिवार र देशबाट टाढा भएका साथीलाई पुरेर हिँड्नुपर्दा दीपक भावुक हुन्थे । साथीलाई अन्तिम बिदाई गर्दा आफूलाई सम्हाल्न नसकिने उनी बताउँछन् । 'छाडेर जानुबाहेक अर्को विकल्प हुँदैन थियो,’ उनले अगाडि थपे । 

दीपकलाई खार्किभको सिमानामा युद्धमा जाँदा हातमा बमको छर्रा लाग्यो । अस्पतालमा उपचार गराइरहेका दीपक दुखाई सहेर भन्छन्, ‘बिहान ४ बजेसम्म ट्यांकको छेका लाएर हात समाएर बसेँ । उज्यालोको पर्खाइ र भगवानलाई पुकार्दै बसेँ ।'

ट्याकं आएर दीपकलाई उद्धार गर्यो । आफूलाई उद्धार गरेकामा आफूलाई भाग्यमानी ठान्छन् । धेरै साथीहरूको समयमा उद्धार हुन्न । उनले अहिले पनि हातमा रहेका छर्रा निकालेका छैनन् । उनी अस्पतालमा उपचाररत छन् ।

उनले घाइते भएको खबर परिवारलाई समेत गरेका छैनन् । युद्धमा घाइते भएका १३ जना अस्पतालमा छन् । १५ जनाको नेपाली टोली थियो २ जनासँग अझै सम्पर्क हुन नसकेको उनले बताए । उपचाररत धेरैको हात र खुट्टा छैन । ‘यहाँको अवस्था एकदम हृदयविदारक छ,’ उनले भने । 

घाइते सैनिकको उपचार रसियन सरकारले गरिरहेको उनले बताए । सेनाले घाइतेको अवस्था हेरेर बिदा दिने गरेको छ । युद्धमा लडेर घाइते भएकाले उपचारमा लाग्ने समयबाहेक एक महिना बिदा पाउँछन् । 

उनले एक महिना बिदा पाएका छन् । युद्धमा जानुपरे थप एक महिना बिदा पाउने व्यवस्था रहेको उनले बताए । युद्धबाट फर्किएपछि बाहिरै बसेर उपचार गर्न पाउँछन् ।

केही दिनअघि भएको युद्धमा धेरै नेपाली हताहत भएको उनले दाबी गरे । नेपाली विद्यार्थी रसियन सेनामा रहेका र उनीहरू नै बढी मारिने गरेको दीपक बताउँछन् । 

नेपालीहरू मासिक २ लाख १० हजार नेपाली रुपैयाँ तलब पाउने आशामा रसिया पुगेको उनले बताए । युद्धमा जाँदा प्रतिदिन ८ हजार थप पाउने गरेको उनले जानकारी दिए । ४/५ महिनासम्म तलब नपाउने नेपालीहरू पनि रहेको उनले बताए । 

नेपालीलाई भाषाका कारण समस्या छ । सेनामा अंग्रेजी प्रतिबन्ध छ। उनीहरू अमेरिकालाई मन नपराउने भएकाले अंग्रेजी भाषा र बोल्ने दुवैलाई घृणा गर्छन् । नेपालीलाई अंग्रेजी प्रतिबन्ध भएकाले पनि रसियन भाषा बुझ्न नसकिरहेको उनको भनाइ छ ।

रसियन सेनामा भर्ना भएका धेरै नेपालीहरू फर्कन चाहेको दीपकले बताए । उनी पनि फर्कन चाहन्छन् । आफ्ना साथीहरूको ज्यान गएको देख्दा ज्यानभन्दा ठूलो अरू केही होइन जस्तो भएको छ,’ उनले मन्द स्वरमा भने 'नेपाल फर्कने सपना अधुरै होला जस्तो छ ।'

युद्धग्रस्त मुलुक रसिया सेनामा भर्ना नहुनु : परराष्ट्र
रसियास्थित नेपाली दूतावास पुगेका दीपकलाई स्वदेश फर्कन नमिल्ने जवाफ दिएको उनले बताए ।  'तपाईंको शरीरमा बमको छर्रा छ जान मिल्दैन भने' उनले मलिन स्वरमा भने 'दूतावास छ भन्नुमात्रै केही कामै हुन्न ।'

त्यसैगरी परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न अनुरोध गरेको छ । सेनामा भर्ना गरेको भएपनि तुरुन्त नेपाल फर्काउन पनि परराष्ट्र मन्त्रालयले आव्हान गरेको छ । तर रूसी सेनामा भर्ना भएर नेपाल फर्किन चाहेकाहरूलाई फर्काउन दूतावास चाहँदैन । 

रसिया यात्रा गर्नुपरेमा परराष्ट्र मन्त्रालयको कन्सुलर विभागबाट एनओसी लिएर मात्र जानलाई सर्वसाधारणलाई मन्त्रालयले आग्रह गरेको छ । कसैको प्रलोभनमा परी युद्धग्रस्त मुलुक रसियन सेनामा भर्ना नहुन मन्त्रालयले अनुरोध गरेको छ । 

रसियासँग श्रम सम्झौता छैन : श्रम​ मन्त्रालय
त्यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले रसियासँग कुनै पनि श्रम सम्झौता नगरेको बताए । सुरक्षाकर्मी भर्ना गर्नका लागि हालसम्म नेपालले भारत र बेलायतसँग मात्र सम्झौता गरेको उनको भनाइ छ । 

‘रसियासँग सैनिक भर्ना गर्ने विषयमा  कुनै पनि सम्झौता गरिएको छैन,’ उनले भने,’ रसिया जानेहरू विद्यार्थी र भ्रमण भिसामा मात्र जाने गरेका छन् ।'

धेरै नेपालीहरू विद्यार्थी भिसामा रसिया पुगेको घिमिरेले इकागजलाई जानकारी दिए । उनका अनुसार केही दिनअघि मृत्यु भएकाहरू विद्यार्थी र भ्रमण भिसामा पुगेका थिए ।

नेपालबाट रसिया पठाउने एजेन्टलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाइसकेको उनले जानकारी दिए । नेपालीहरू आकर्षक तलब र एक वर्षमा पिआर कार्ड पाइने आशामा पुग्ने गरेको उनले बताए । 

श्रम सम्झौता भएका मुलुकमा मात्र नेपालीलाई उद्धार गर्न श्रम मन्त्रालयले पहल गर्ने उनले सुनाए ।


Author

थप समाचार
x