कूटनीति

ऊर्जामन्त्री भुसालसँग क्यानाडाका राजदूतको शिष्टाचार भेट

इकागज |
चैत २९, २०७८ मंगलबार १६:३ बजे

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गरेका छन् । 

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भयो ।


सो अवसरमा ऊर्जामन्त्री भुसालले विगतमा क्यानडाले नागरिक उड्डयन, ग्रामीण तथा पर्वतीय विकास, नवीकरणीय ऊर्जा एवं खाद्य सुरक्षाजस्ता क्षेत्रमा पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् । 

उनले क्यानडामा ठूलो सङ्ख्यामा नेपालीको बसोबास रहेको उल्लेख गर्दै जनस्तरीय एवं सांस्कृतिक सम्बन्ध दुई देशबीचको महत्वपूर्ण पाटो भएको स्मरण गरिन्।
 
नेपालले स्वच्छ ऊर्जाको विकास र व्यापारलाई प्रवद्र्धन गरिरहेको अवस्थामा क्यानडाले आर्थिक एवं प्राविधिक सहयोग गर्न सक्ने उल्लेख गर्दै मन्त्री भुसालले भने, `विद्युत् खपतका लागि हाल प्रयोग हुँदै आएको पेट्रोलियम सार्वजनिक सवारी साधनलाई विद्युतीय साधनमा रुपान्तरण गर्दैछौँ । विद्युतीय ऊर्जा प्रयोग गरेर रासायनिक मल उत्पादन कम्पनी स्थापना गर्न चाहन्छौँ । यी क्षेत्रमा क्यानडाले आर्थिक तथा प्राविधिक सहयोग गर्न सक्छ ।`

मन्त्री भुसालले नेपालको विकासमा क्यानडाले गर्दै आएको सहयोग निरन्तर रहने विश्वाससमेत व्यक्त गरिन् । उनले आपसी हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा नेपाल–क्यानडाको सहकार्य निरन्तर रहनेमा पनि विश्वास व्यक्त गरिन् । 

भेटमा राजदूत म्याकेले स्वच्छ ऊर्जाको विकासमा नेपालले प्रशंसनीय काम गरिरहेको उल्लेख गर्दै आफ्नो देशको सरकारी एवं निजी क्षेत्रले सहकार्य गरेर नेपालमा आवश्यक पर्ने प्राविधिक सहकार्य गर्ने बताए । 

क्यानडाका निजी क्षेत्रले नेपालका निजी क्षेत्रसँग सहकार्य गर्ने उचित वातावरण सिर्जना गर्न आफूले पहल गर्ने उनले विश्वास दिलाए । 

सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीको पनि उपस्थिति थियो । सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात् नेपाल र क्यानडाबीचको सम्बन्ध मैत्रीपूर्ण र सौहार्द रहँदै आएको छ ।
रासस


Author

थप समाचार
x