रोग र उपचार

करार म्याद थपको माग गर्दै प्रादेशिक अस्पतालका कर्मचारीहरू आन्दोलित

इकागज |
साउन २, २०७९ सोमबार १८:४ बजे

जनकपुरधाम - जागिरबाट हटाइएका प्रादेशिक अस्पताल जनकपुरधामका कर्मचारीहरु आन्दोलनमा उत्रेका छन ।

प्रदेश सरकार मातहतको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले २०७७ कात्तिक २५ गतेदेखि कार्यरत १ सय ३२ जना करारका कर्मचारी हटाएका छन । यसअघिका अस्पतालका मेडिकल सुपरिडेन्ट डा. प्रमोद यादवले भर्ना गरेका कर्मचारीहरुलाई मात्र नियतवश हटाइएको भनी उनीहरु आन्दोलनमा उत्रेका हुन् ।


गत दुई दिनअघि आइतवारदेखि लागू हुनेगरी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले २०७७ कात्तिक २५ गतेदेखि राखिएका सम्पूर्ण करारका कर्मचारीलाई करार अवधि थप नभएसम्मका लागि हटाइएको भनी सूचना प्रकाशन गरी हटाएको छ ।

तत्कालीन अस्पताल व्यवस्थापन तथा संचालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण करारका कर्मचारीको म्याद थप नभए सम्मको लागि हाजिरी नगर्न प्रकाशित सूचनामा भनेको छ । जागिरबाट हटाइएका करारका कर्मचारीहरुले करार म्याद थप र कर्मचारी व्यवस्थापन तथा समायोजन गर्नुपर्ने माग अघि सार्दै आन्दोलनमा उत्रेका हुन ।

आन्दोलनरत कर्मचारी आइतवार प्रतिष्ठानलाई ज्ञापन पत्र बुझाएका थिए भने सोमबार अस्पतालमा तालाबन्दी गर्न खोज्दा व्यापक रुपमा प्रहरी परिचालन गरिएका कारण उनीहरु सफल हुन सकेनन् ।

आन्दोलनरत कर्मचारी रेणु यादवले भनिन्, `डा. प्रमोद यादवले भर्ना गरेको भनेर व्यक्तिगत ईश्र्याका कारण हामीलाई प्रतिष्ठानले नियतवश हटाएको छ । करारमा हामी मात्रै छैनौं ३ सयको हाराहारीमा अझै छन, तिनीहरुलाई राख्ने र हामीलाई हटाउने उचित भएन ।`

उनले यदि हटाउनै छ भने सम्पूर्ण करारका कर्मचारीलाई हटाउनुपर्ने बताइन् । कानुन सबैका लागि बराबर हुन्छ तर नियतवश कसैलाई हटाउनु उचित होइन, हाम्रो पनि करारको म्याद थप गरी समायोजन गर्नुपर्छ नभए चरणबद्ध आन्दोलन गर्नेछौं ।

कर्मचारी धिरज यादवले प्रतिष्ठानले कर्मचारीलाई कुनै जानकारी र छलफल नै नगरी हटाउनु गलत कार्य भएको बताए । `त्यसमा पनि व्यक्तिगत ईश्र्यामा हटाउने हतास मानसिकताको उपज हो, अरुलाई पनि हटाउने हाम्रो मानसिकता होइन तर कानुन सबैका लागि बराबर हुनु पर्यो`, उनले भने । उनले प्रतिष्ठानले म्याद थप गरी हामीलाई पुनः नियुक्ति नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए ।


Author

थप समाचार
x