रङ्गमन्च

फागुन १ देखि ७ गतेसम्म बाल नाटक मेला, उत्कृष्ट नाटकलाई १ लाख नगद

इकागज |
माघ १५, २०७९ आइतबार १०:१२ बजे

काठमाडौँ- देशभरिका नाट्यकर्मीहरुको छाता संस्था नाट्यकर्मी महासंघले राष्ट्रिय बाल नाटक मेला आयोजना गर्ने भएको छ । आगामी फागुन १ देखि ७ गते सम्म आयोजना हुने नाटक मेलामा  उत्कृष्ट हुने नाटकलाई नगद १ लाख पुरस्कार प्रदान गरिने आयोजकले घोषणा गरेको छ । त्यसका साथै अन्य २० वटा विधागत पुरस्कारहरु पनि प्रदान गरिने छ । आयोजनाका लागि साँस्कृतिक संस्थान र विद्यालयहरुको संस्था प्याब्सनको सहकार्य रहनेछ ।

बालबालिकाहरु संवेदनशील हुन्छन्, उनीहरुको संवेदनालाई समयमै उचित मार्गदर्शन हुन सकेन भने उनीहरूको गति, दिशा र गन्तव्यले सही बाटो पहिल्याउन नसक्ने गम्भीर जोखिम रहन सक्छ । अतः औपचारिक शिक्षाका साथै सिर्जनशिलताका विविध माध्यमहरुको उपयोगले उनिहरुको मानसिक विकासमा सहयोग पुग्न सक्छ भन्ने अभिप्रायले राष्ट्रिय बाल नाटक मेला २०७९ आयोजना गरिन लागेको आयोजकले जनाएको छ ।  


नाटक मेलामा सहभागिताका लागि देशभरिबाट नाटक आव्हान गरिएको छ । मेलामा सहभागिताका लागि प्राप्त नाटकहरु मध्येबाट अन्तिम प्रतिष्पर्धाका लागि २० वटा नाटक छनौट गरिने छ । अन्तिम छनौटमा परेका नाटकहरु मेलामा मञ्चन हुनेछन् । प्रतियोगितात्मक रुपमा सञ्चालन हुने मेलामा उत्कृष्ट नाटकका साथै उत्कृष्ट निर्देशन, उत्कृष्ट कलाकारहरु जस्तै शीर्ष चरित्र, सहायक चरित्र, हास्य चरित्र, नकारात्मक चरित्र एवम् संगीत, ध्वनि, मञ्च परिकल्पना तथा निर्माण, लगायत २० वटा विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ । सबै विधागत विजेताहरुलाई नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ । 

मेलामा सहभागी हुन चाहनेले नाटकको आलेख र त्यही नाटकको ३ मिनेटको भिडियो आयोजकलाई पठाउनु पर्नेछ । त्यसैको आधारमा अन्तिम छनौट गरिनेछ । नाटकको लम्बाई ३० देखि ३५ मिनेटको तोकिएको छ भने नाटकको विषयवस्तु बालबालिकामा आधारित भए त्यस्तो नाटकलाई प्रोत्साहन गर्ने भनिएको छ । 

प्रतियोगितामा निम्‍न  पुरस्कार वितरण गरिनेछ । 
सामूहिक पुरस्कार                                     
१)     सर्वोत्कृष्ट नाटक                                  
२)     उत्कृष्ट निर्देशन                             
३)    उत्कृष्ट अनुशासित समूह                      
४)    फेस्टिभल क्याम्पेनका लागि उत्कृष्ट समूह        
५)      दर्शक छनौट पुरस्कार                         
व्यक्तिगत पुरस्कार                                           
६)     उत्कृष्ट कलाकार : नकारात्मक चरित्र ( महिला ) 
७)    उत्कृष्ट कलाकार : नकारात्मक चरित्र ( पुरुष )
८)     उत्कृष्ट कलाकार : हास्य चरित्र ( महिला ) 
९)    उत्कृष्ट कलाकार : हास्य चरित्र ( पुरुष )
१०)     उत्कृष्ट कलाकार : सहायक चरित्र ( महिला ) 
११)     उत्कृष्ट कलाकार : सहायक चरित्र ( पुरुष )
१२)     उत्कृष्ट कलाकार : शीर्ष चरित्र ( महिला )
१३)     उत्कृष्ट कलाकार : शीर्ष चरित्र ( पुरुष )
प्राविधिक पुरस्कार
१४) उत्कृष्ट मञ्च परिकल्पना तथा निर्माण
१५) उत्कृष्ट भेषभूषा
१६) उत्कृष्ट श्रृंगार
१७) उत्कृष्ट प्रत्यक्ष संगीत 
१८) उत्कृष्ट पाश्र्व ध्वनि
१९) उत्कृष्ट प्रकाश डिजाइन
२०) उत्कृष्ट पोस्टर डिजाइन

 


Author

थप समाचार
x