रङ्गमन्च

मण्डला थिएटरमा एकैसाथ दुई नाटकको मञ्चन

इकागज |
असार ७, २०८० बिहीबार ११:११ बजे

काठमाडौँ-  नयाँ बानेश्वरस्थित मण्डला नाटकघरमा आगामी असार पहिलो सातादेखि एकैपटक दुई नाटक मञ्चन हुने भएका छन् । मण्डलाको स्टुडियो थिएटरमा यही असार ७ गतेदेखि नाटक ‘कोराघाट’ मञ्चन हुने भएको छ भने सोही स्थानको ठूलो प्रेक्षालय (मण्डला थिएटर)मा असार ८ गतेदेखि नाटक ‘हिउँभन्दा चिसो’को नियमित प्रदर्शन हुनेछ ।


मण्डला थिएटर नेपालले नियमित रुपमा गर्दै आएको अभिनय प्रशिक्षण कार्यक्रम थिएटर ल्याबको एघारौं ब्याचका प्रशिक्षार्थीलाई लिएर तयार पारिएको नाटक 'कोराघाट'लाई वरिष्ठ रंगकर्मी तथा चलचित्र अभिनेता कमलमणि नेपालले निर्देशन गर्दैछन् । कुमार नगरकोटीको कथा ‘कोराघाटका क्रियापुत्रीहरु’मा आधारित नाटक असारको २१ गतेसम्म हरेक साँझ ४ बजे मञ्चन गरिनेछ । तीन महिनासम्म अभिनयको आधारभूत प्रशिक्षण लिएका प्रशिक्षार्थीहरुले सिकेका कुरालाई मञ्चमा देखाउने अवसरका रुपमा कोराघाटको मञ्चन राखिएको छ ।


त्यसैगरी, मण्डला थिएटरमा मञ्चन हुने नाटक ‘हिउँभन्दा चिसो’लाई साइकोलोजिकल थ्रिलर जनराको बताइएको छ । हाललाई कथावस्तु र परिवेश नखुलाइएको नाटक हिउँभन्दा चिसोमार्फत पुराना रंगकर्मी तथा चलचित्र कलाकार भोलाराज सापकोटालाई फेरि एकपटक मञ्चमा देख्न पाइने भएको छ । बलिउड चलचित्र बर्फीमा रणवीर कपुरसँग स्क्रीन सेयर गरेर चर्चा कमाएका सापकोटाले त्यसयता थुप्रै नेपाली चलचित्रहरुमा काम गरेतापनि ६ वर्षअघि विमल सुवेदीद्वारा निर्देशित हेम्लेट पछि कुनै नाटकमा अभिनय गरेका थिएनन् । लामो समयपछि नाटक खेल्ने अफर आएको, स्क्रिप्ट मन परेको र समय पनि अनुकूल भएका कारण हिउँभन्दा चिसोमा अभिनय गर्न लागेको र यसले आफूलाई उत्साहित बनाएको सापकोटाले बताएका छन् ।

नाटक 'हिउँभन्दा चिसो'मा सापकोटासँगै कलाकारद्वय रेणु योगी र गोविन्द सुनारको अभिनय देख्न पाइनेछ । नाटकलाई सोमनाथ खनालले निर्देशन गर्दैछन् । खनालको निर्देशनमा यसअघि ‘रमाइलो’, ‘इदमित्थम’ र ‘तीन ट्रान्जिट’ जस्ता नाटकहरुलाई मण्डला थिएटरले देखाइसकेको छ । करिव १ घण्टा ३० मिनेट लामो नाटक मण्डलाको प्रेक्षालयमा श्रावण १४ गतेसम्म हरेक साँझ पौने छ बजे मञ्चन हुने छ ।


१२ वर्षसम्म काठमाडौंको अनामनगरमा नाटकघर चलाएको मण्डला थिएटरले गत वर्षदेखि थापागाउँमा सुविधासम्पन्न २ वटा नाटकघर, क्याफे, रेष्टुरेन्ट र आर्टिस्ट रेसिडेन्सी सञ्चालन गर्दै आएको छ । गत वर्षको मंसिरमा सम्पन्न दोश्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवका दौरान दुवै नाटकघरमा नाटक मञ्चन गरिएतापनि यसरी नियमित रुपमा आफ्नै प्रोडक्सनलाई भने पहिलोपटक मञ्चन गर्न लागिएको मण्डलाकी अध्यक्ष सृजना सुब्बाले बताइन्उ  ।

पछिल्लो समय रंगमञ्चप्रति दर्शकहरुको बढ्दो आकर्षण र नयाँ स्थानमा पाएको अवसर सदुपयोग गर्नका लागि पनि यसरी आफ्नै प्रोडक्सनमा दुई नाटक सँगै प्रदर्शन गर्न लागिएको उनले जानकारी दिइन् । ‘दर्शक बाँडिने चुनौती पनि होला, तर एकै स्थानमा फरक स्वादका दुई नाटक हेर्ने अवसर पनि यसले दिन्छ’, सुब्बाले थपिन् ‘त्यही भएर यो परीक्षण आफ्नै नाटकमा गर्न लागेका हौं ताकि यसको जोखिम अरु कसैले उठाउन नपरोस ।’


Author

थप समाचार
x