काठमाडौंबाहिर-४
अनुप सर १५ वर्षअघि घर फर्कनुभएको भए पोखरा अर्कै भइसक्थ्यो
‘कर्नाली दख्खिन बग्दो छ’ र ‘सुनकेशरी’ नाटकका कलाकार हिरा बिजुली नेपाली ‘पम्फाफूल’, ‘गर्भछिटा’ आदि नाटकका निर्देशक पनि हुन् । एसएलसीपछि मुगुबाट उच्च शिक्षाका लागि काठमाडौं आएका हिरा सुरुसुरुमा काठमाडौंलाई बुझ्न सकस भएको बताउँछन् । तर, ८ वर्षअघि एक दिन उनले यसमा टाउको दुखाउन जरुरी ठानेनन् । झोली तुम्बा बोकेर गमगढी फर्किए । त्यसयता कर्नालीमै रहेर उनले ‘कर्नाली आर्ट सेन्टर’मार्फत विभिन्न नाट्य गतिविधि गरिरहेका छन् । नाटककै कामले बेलाबखत काठमाडौं आइरहने हिरा आफूहरू काठमाडौंसँग भन्दा पनि कर्नालीसँगै लडेर अधिकार लिने पक्षमा रहेको बताउँछन् ।
०००
मलाई शिक्षक बनाउने बुबाको ठूलो सपना थियो । त्यही भएर कुटीकुटी पढाउनुभएको थियो । एसएलसी पास गरेपछि १५ हजार बोकेर उच्चशिक्षा पढ्ने अभिलाषाले म काठमाडौं आएको थिएँ । तीन महिना होटलमा बस्दा पैसा सकियो । काठमाडौंमा टिक्न नसक्ने देखेर कर्नाली फर्कन लागेको थिएँ तर फर्कने भाडा पनि थिएन । मीन भामसँग भाडा माग्न गएको थिएँ, उहाँले एउटा नाटक गर्न लागेको छु, त्यहाँ काम गरौँला । त्यसले अरु दुई-चार महिना पुग्छ भनेपछि म काठमाडौंमा अडिएँ ।
मलाई यसरी अभावले रंगमञ्चमा छिरायो । १६ वर्षको उमेरदेखि छिरेको अहिले ३० वर्षको भएँ । तर, मलाई आज कसैले तेरो सुख के हो भनेर सोध्यो भने म यही नाटकमा छिरेको समयको नाम लिन्छु । काठमाडौंमा कर्नालीका अनेक चित्र छन् । विकट, भोकमरी, फोहोरी केही प्रतिनिधि शब्द हुन् जसबाट पूरा कर्नाली चिहाइन्छ । ‘रारामा माछा मरे, खेतमा स्याउ झरे’ पत्रपत्रिकाले रुचाउने हेडलाइन हुन् ।
काठमाडौंका सबै थिएटर व्यापारमुखी छन् । हामी चाहिँ समुदायमा काम गर्दा एक पैसा पनि लिँदैनौं ।
काठमाडौंलाई सधैं कर्नालीको भोकमरी र गरिबी देखाइयो । तर, यहाँको समृद्धि देखाइएन । कर्नाली खस भाषा, लोकभाका र लोकसाहित्यको उद्गमस्थल हो, यो कुरा कोही पनि लेख्न/देखाउन चाहन्न । काठमाडौंले पहिलोपल्ट ‘कर्नाली दख्खिन बग्दो छ’मा कर्नालीलाई देखेको हो । अरुको के कुरा गर्नु नाट्यकर्मी नै यिनीहरूलाई केही थाहा छैन भन्ने जस्तो व्यवहार गर्थे । गुरुकुलमै पनि हामीले ‘भात खान नपाएर यहाँ आएका हुन्’ भन्ने वचन सुनेका थियौं । तर, यो इमेज तोड्नुपर्ने समय आएको छ ।
कर्नालीका बारेमा देशी-विदेशी धेरैले लेखेका छन् । सत्यमोहन जोशीको टिमले पनि त्यहाँ पुगेर लेख्यो, मदन पुरस्कार पायो । तर, जोशीको किताबका पाँचै ठेली किनेर मैले पढेँ । त्यहाँ ‘डुम’ भनेर दलितलाई सम्मानजनक चित्रण गरिएको छैन । यी सब कुरा विचार गर्दा अब कर्नाली आफैँ सचेत भएर आफ्ना कथा आफैँ भन्न-लेख्न जरुरी छ ।
प्रदेश र स्थानीय सरकार बनिसकेको छ । अब कर्नालीले काठमाडौंको मात्र मुख ताक्नुपर्ने पक्षमा छैन म । कर्नालीका लागि काठमाडौँ जति दूर छ र बिरानो छ, सुर्खेतको सानसौकत पनि कम छैन । त्यो अब कर्नालीमै गर्नुपर्छ । म दस वर्षअघि काठमाडौंबाट मुगु फर्किने कारण नै यही हो । भर्खरै अनुप बराल सर पनि पोखरा फर्कनुभयो । मलाई लाग्छ, उहाँ १५ वर्षअघि पोखरा फर्कनुभएको भए पोखराको नाटक अर्कै भइसक्थ्यो ।
घर फर्किनलाई मीन भामसँग गाडीभाडा माग्न गएको थिएँ । उहाँले नाटक गर्न लागेको छु, सँगै काम गरौँला भनेपछि म काठमाडौंमा अडिएँ ।
अहिले कर्नालीमा रहेर हामीले नाटकका गतिविधि ह्वात्तै बढाएका छौं । यसबीचमा हामीले नाटक हेर्ने दर्शक बनाएका छौं । हिजो महिलाको भूमिका गर्ने महिला नपाउँदा पुरुष नै महिला बन्नुपर्ने बाध्यता थियो । आज मुगुमा मेरा छोराछोरीलाई पनि नाटक गराइदेऊ न भन्ने अभिभावक प्रशस्तै भेटिनुहुन्छ । अहिले हामी कर्नाली आर्ट सेन्टरमा १८ जना सक्रिय सदस्य छौं । हामीले कर्नालीमा सडक नाटक, रेडियो कार्यक्रम, अन्तरपुस्ता सांस्कृतिक कार्यक्रम आदि काम गरिरहेका छौं । यहाँ रहेर हामीले स्कुल स्कुलमा कार्यक्रम चलाएका छौं जहाँ हामी हरेक हप्ता बालबालिकालाई कर्नालीको लोकसाहित्यका कथा वाचन गर्न लगाउँछौं । त्यहाँका ठाडी भाका कण्ठ पार्न लगाउँछौं । अब उनीहरूले कर्नालीको सांस्कृतिक समृद्धिको कथा बाँकी नेपाललाई सुनाउनेछन् ।
मैले माथि पनि भनेँ, मलाई काठमाडौंसँग अपेक्षा छैन । किनकि यसले त बजेट पठाएर आफ्नो काम गरिसकेको छ । गर्नुपर्ने त कर्नाली आफैंले हो नि । कर्नाली खस भाषाको उद्गमस्थल । तर, तपाईं कर्नाली जाँदा कहीँ पनि यसको छनक भेट्नुहुन्न ।
कर्नालीले नाटक बुझ्दैन । मैले माथि भने जस्तै पत्रपत्रिकाले गरिबी बुझ्दैन ।
मुगुको गमगढी बजार नै जानुभयो भने पनि बजारमा रक्सी पसलभन्दा बढी केही देखिन्न । गमगढीलाई खस बजार बनाउन के काठमाडौंले रोकेको हो र ? खस संस्कृतिको झल्को दिने गोबरले, रातो माटोले लिपेका घरको साटो टिनको छाना भएका घरको बाहुल्य छ । तर, मलाई के लाग्छ भने यसलाई आफ्नो संस्कृतिको रंग दिन यहाँका मानिस आफैं जाग्नुपर्छ । यहाँको खान्की फापर हो, यसैमा बानी पर्नुपर्छ । चामलको पछि लागेर हुन्न ।
त्यही भएर हामी ‘राइटु टु कल्चर’का लागि लडिरहेका छौं । हाम्रो निष्कर्ष छ, ‘मान्छेको विचार स्पष्ट भएन भने जे गरे पनि काम छैन ।’ हाम्रै गाउँ-ठाउँको उदाहरण दिन्छु । हाम्रोमा थुप्रै एनजिओ आएर ट्वाइलेट बनाए । तर, मानिस ट्वाइलेट गएनन् । बाख्रा राख्ने ठाउँ बनाए । यो भनेको के हो भने हामीले हाम्रो चेतनामा काम गर्नुपर्छ ।
बीचमा मीन भाम र म नाटकका लागि हल बनाउने कुरामा अल्झियौं । त्यो भयो भने नाटक गर्न सजिलो हुन्छ भन्ने लाग्यो । ८/१० वर्षपछि हामीलाई के थाहा भयो भने हल बनाउन ८०/९० लाख रुपैयाँ खर्च लाग्नेरैछ । त्यसले थिचिरा रैछ, हामीलाई । जुनदेखि हल बनाउन कुरालाई तिलाञ्जलि दियौं, त्यो दिनबाट मज्जाले काम गर्न सक्यौं । जब मैले दिमागबाट हल भन्ने कुरा निकालेँ, त्यो दिनबाट हामीले नाटकमा प्रगति गर्यौं । किनकि नाटक भन्ने कुरा हलमा मात्र हुने त हैन । जहाँ पनि गर्न सकिन्छ । अझ हाम्रो चाहना त के हो भने ज्यादाभन्दा ज्यादा मान्छेले हेरुन् ।
नेपालमा दुइटा खालको थिएटर अभ्यासमा छ । एउटा सडक नाटक हुन्छ, अनि अर्को चाहिँ प्रोसेनियम थिएटर हुन्छ जुन व्यापारमुखी हुन्छ । काठमाडौंका सबै थिएटर प्रोसेनियम अर्थात् व्यापारमुखी हुन् । मुख्य उद्देश्य व्यापार गर्ने नै देखिन्छ । हामी चाहिँ समुदायमा काम गर्दा एक पैसा पनि लिँदैनौं । सरकारी पैसा पाए लिन्छौं तर दुःखको कुरा आजसम्म एक पैसा पनि पाएका छैनौं ।
गमगढीलाई खस बजार बनाउन के काठमाडौंले रोकेको हो र ?
कर्नालीले नाटक बुझ्दैन । मैले माथि भने जस्तै पत्रपत्रिकाले गरिबी बुझ्दैन । हामीले जे जति माया र हौसला पाएका छौं त्यो काठमाडौंबाटै पाएका छौं । ‘शीतले तुल पाक्छ, आशले मान्छे बाँच्छ’ भन्ने हाम्रोमा उखान छ । काठमाडौंले सधैं हामीलाई त्यो आश दिएको छ ।
कर्नालीको धनाढ्यको एउटा समस्या छ । आफ्ना भाइ-भतिजा छन् भने लगानी गर्ने नत्र नगर्ने । सरकारी निकायबाट कलाको गतिविधिमा लगानी हुनुपर्यो । हरेक वर्ष कम्तीमा दुई तीनवटा आर्ट फेस्टिभल गर्ने । एउटा थिएटर फेस्टिभल गर्नुपर्यो, लोकबाजा फेस्टिभल गर्नुपर्यो, लोकसाहित्य महोत्सव हुनुपर्यो । स्टोरी टेलिङका कुरा गर्नुपर्यो, पुराना स्टोरी आर्काइभ गर्नुपर्यो । हामीले अहिले त्यही गरिरहेका हौं । कर्नालीको कला संस्कृति किताबमा लेख्ने, म्युजियममा राख्ने र फिल्म बनाएर विदेशमा बेच्नेभन्दा पनि त्यो संस्कृति त्यहाँको समुदायमा आउनुपर्यो भन्ने कुरामा हाम्रो जोड छ । कर्नालीका मान्छेको जिन्दगीमा त्यो सबै कुरा आउनुपर्यो बल्ल त्यो कुरा जीवन्त हुन्छ ।
यसअघिका काठमाडौँबाहिर
- काठमाडौंले मात्रै थेगिने खेलकुदले मुलुकको खेलकुद उँभो लाग्दैन
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया