सम्पादकीय

सम्पादकीय

विमान दुर्घटना : यथार्थ छानबिन होस्

इकागज |
माघ १, २०७९ आइतबार १७:४८ बजे

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परी अहिलेसम्म विमानमा सवार ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

विमानमा ५३ जना नेपाली, पाँच भारतीय, चार रसियन, अस्ट्रेलिन एक, अर्जेन्टिनी १, कोरियन, २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चारजना चालक दलका सदस्य थिए । पोखरा विमानस्थलदेखि २ किलोमिटर वर सेतीको खोंचमा विमान खसेको थियो । यो दुर्घटनाले नेपाली आकाश सुरक्षित नभएको देखाएको छ । विशेष गरी यती एयरलाइन्स र यसकै अर्काे सहायक कम्पनी तारा एयर गरी सन् २००४ देखि हालसम्म सातवटा विमान दुर्घटनामा परिसकेका छन् ।


यसमध्ये तारा एयरको कूल पाँचवटा विमान दुर्घटनामा परेका थिए, जसमध्ये तीनवटा मृत्युदायी दुर्घटना थिए । काठमाडौंबाट लुक्लाका लागि उडेको यती एयरलाइन्सको ट्वीनअटर जहाज २५ मे २००४ मा दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको थियो । त्यस्तै सन्् २००६ को २१ जूनमा यती एयरलाइन्सकै ट्वीनअटर जुम्ला विमानस्थलमा दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित नौजनाको ज्यान गएको थियो । अवतरणका क्रममा यती एयरलाइन्सको विमान सन् २००८ को अक्टोबरमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । तारा एयरको ट्वीनअटर ओखलढुंगाको मानेडाँडामा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो । ताराकै जहाज सन् २०१६ को २४ फेब्रुअरीमा दुर्घटना हुँदा २३ जनाको ज्यान गएको थियो । 

विमान दुर्घटनाका यी शृंखलाहरुले यो कम्पनीको हवाई उडान सुरक्षा, विश्वसनीयता, गुणस्तरीयता, व्यवस्थापन लगायत थुप्रै विषयमा प्रश्न उठाएको छ । 

कुनै पनि जहाज सही तवरले उडान भर्न र अवतरण गर्न मौसम, उपकरण, सञ्चार, नियमन आदिलगायत सबै पक्षको एकसाथ सहयोग चाहिन्छ । कुनै एक पक्षको मात्र गल्ती वा कमजोरीले घातक दुर्घटना निम्तिन सक्छ । हाम्रो सन्दर्भमा नियमन अति कमजोर छ । त्यही भएर हाम्रो उडानलाई युरोपियन युनियनलगायत आइकाओले कालो सूचीमा राखेको थियो । कालोसूचीमा राखेर विश्वका सामू नेपालको हवाई यात्रा असुरक्षित छ भन्ने सन्देश गइरहँदा पनि कुनै पनि दलका सरकारले यस्तो कालोसूचीबाट हट्न गर्नुपर्ने सुधारात्मक क्रियाकलाप कहिल्यै गरेन । विमान दुर्घटना हुन्छ अनि आयोग बन्छ । अनि हरेक आयोगले दोष मृतक विमानचालकमाथि लगाउने गर्छ । त्यसपछि अर्काे विमान दुर्घटना नभएसम्म यसखाले विषय र मुद्दाले चर्चासमेत पाउँदैन ।

जहाजको अवस्था ठीक थियो छ थिएन वा छ कि छैन भन्ने विषय सधै महत्वपूर्ण हुन्छ । यती एयरलाइन्सको आज भएको विमान दुर्घटनाको प्राविधिक छानबिन होला, त्यो आफ्नो ठाउँमा छ । त्यति धेरै मानिसको मृत्यु भइसकेपछि छानबिन गरेर मात्र उनीहरुको जीवन फर्कने होइन । पटक–पटक हुने दुर्घटनाबाट नेपालले कहिल्यै पाठ सिकेन भन्ने गुनासो विदेशीहरुले समेत गर्दै आइरहेका हुन् । यसो हुनुमा नागरिक उड्डयन प्राधिकरणमा पर्यटन मन्त्रीले नियुक्त गर्ने पात्र धेरै हदसम्म जिम्मेवार हुनुपर्ने हो । वरिष्ठता मिचेर नियुक्त गरिने त्यस्ता पात्रको योग्यतामाथि जतिसुकै विवाद उत्पन्न भए पनि पर्यटन मन्त्री निच मारेर बस्ने, आफ्नो स्वार्थ मात्र हेर्ने गर्दा अनुगमनकारी निकाय कहिल्यै प्रभावकारी हुन नसकेको हो । 

नेपालको भौगोलिक जटिलता आफैमा चुनौतीपूर्ण छँदैछ । त्यसमाथि अनिवार्य रुपमा अपनाउनुपर्ने सजगता, पालन गर्नै पर्ने उड्डयनका नियमहरु, नियमनकारी ​निकायले गर्नुपर्ने कामहरु उपेक्षित हुँदा अक्सर विमान दुर्घटनामा परेका हुन्छन् । उड्न लाग्दा सफा रहेको मौसम अवतरणका क्रममा आएर एक्कासी बिग्रने गर्छ । यसले नेपालको उड्डयन क्षेत्र सधैं चुनौतीपूर्ण बनाइदिएको छ । त्यसमाथि नियमनकारी निकायका कमी, कमजोरी, सम्झौता गर्ने बानी, अयोग्य पात्रलाई जिम्मेवारी दिने मन्त्रीका चरित्र लगायत सबै जिम्मेवार छन् ।

आगामी दिनमा कुनै पनि विमान दुर्घटना हुन नदिन उड्डयन क्षेत्रको समस्त सुधार कार्य जरुरी छ । फेरि यस्तो कहिल्यै नहोस् । छानबिन आयोगले पनि मृतक चालक दलका सदस्यलाई मात्र दोषी देखाउने प्रवृत्ति त्यागी यथार्थ कुरा के हो सार्वजनिक गर्नुपर्छ । यो दु्र्घटनामा कसको लापर्वाही भएको थियो, त्यसलाई उजागर गरी दोषी उपर कारबाही हुनैपर्छ ।

यस दुखद घटनामा परी ज्यान गुमाएकाहरुप्रति हामी हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै यस दुःखको घडीमा मृतकका परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दर्छाैं।


Author

थप समाचार
x