सम्पादकीय

सम्पादकीय

हर दिन होस् प्रणय दिवस

इकागज |
फागुन २, २०७९ मंगलबार १८:५ बजे

संसारका सम्पूर्ण प्रेमिल मनहरूलाई ह्याप्पी भ्यालेन्टाइन। प्रेम, प्रणय, प्यार, माया, पिरती, आकर्षण, जे नाम दिऔँ यो भन्दा सुखद अनुभूति अर्काे छैन । प्रेमका लागि कुनै एक दिन पर्याप्त छैन । यो सदाबहार छ । ब्रह्माण्डव्यापी छ । प्रेम दिवस स्वदेशी र विदेशी भन्ने हुँदैन । स्वदेशी वा पूर्वीय दिवसहरू मनाउन कसैले छेकेको पनि छैन । भ्यालेन्टाइन्स् डेले पनि छेकेको छैन ।

हर दिन प्रणय दिवस होस् । हर छिन प्रणयको क्षण होस् । माया साटियोस् । माया बाँडियोस् । माया गरियोस् । घृणा कसैले कसैलाई नगरोस् । दुनियाँ मुस्कानले उदाओस् र मुस्कानमै अस्ताओस् । यो भन्दा रमाइलो दुनियाँ अरु हुनेछैन । प्रेमको दुनियाँमा कोही मर्न तयार हुनेछैन । आत्महत्या, आत्महानि त शब्दकोशमै मात्र बाँचेको हुनेछ । जब संसारमा प्रेम छ भने त्यहाँ के छैन ? त्यहाँ परम सुख छ, आनन्द छ, स्नेह छ, वात्सल्य छ ।


प्रेम बन्धन होइन, स्वतन्त्रता हो । प्रेम भौतिक होइन, आत्मिक हो । प्रेम पीडा होइन, क्रीडा हो । प्रेममा यातना हुनुहुँदैन । प्रेममा सहअस्तित्व हुनुपर्छ । प्रेम प्राप्ति मात्र होइन, प्रेम हर अस्तित्वको स्वीकार भाव हो ।

पैसा कमाउनु प्रेम कमाउनु होइन । यदि हुन्थ्यो भने सबैभन्दा धनी मान्छे सबैभन्दा प्रेमिल हुँदा हुन् । आर्थिक उन्नतिले मात्र प्रेम दिँदैन । अझ यदाकदा अतिशय अर्थले प्रेम व्यर्थ भइदिन्छ । प्रेमको वातावरण भत्काइदिन्छ । 

अरुलाई, कसैलाई पनि आफ्नो कारणले दुःख नहोओस्, महान् प्रेमीको प्रार्थना यही हो । दुःखीहरूका पक्षमा लड्नु वर्गीय प्रेम हो । वर्ग, जात, धर्म, लिंग, वर्ण, क्षेत्र, शारीरिक अवस्था आदिका आधारमा भिन्न व्यवहार प्रेमको व्यवहार होइन । समानता, स्वतन्त्रता, समता, न्यायको पक्षमा भौतिक वा नैतिक, जसरी हुन्छ उभिनु प्रेमको व्यवहार हो ।

हावा, पानी, घाम, रुख, माटो, जन्तुहरूको अस्तित्वमा कुनै स्वार्थ छैन । मानव जातिका लागि प्राण दिने पृथ्वी सबैको साझा हो । साझा सोच नै यथार्थमा प्रेम हो ।

जिम्मेवारीमा बसेका ठूला मान्छेको दुर्व्यवहार, दुनीर्ति, दुष्कर्मविरुद्ध बोल्नु सद्भाव भड्काउनु होइन । घृणा र लाञ्छना, अपमान र तिरस्कारको भाषा नबोलीकन पनि क्रान्ति गर्न सकिन्छ । युद्ध दिवस नमनाएर पनि क्रान्ति गर्न सकिन्छ । अहिंसात्मक आन्दोलन अर्थात् प्रेमपूर्ण आन्दोलनमा अथाह शक्ति हुन्छ । सृजनात्मक, रचनात्मक विद्रोहमा प्यार हुन्छ । हिंसामा प्यारप्यार हुन्छ । हिंसाको बाटो छोटो छ, त्यसैले त्यस्तो परिवर्तन पानीको फोका हो । शान्तिपूर्ण बाटो लामो छ, त्यो सित्तिमिती ढल्दैन । मानसिकतामा परिवर्तन ल्याउँदै अघि बढ्नु प्रेमको बाटो हो ।

प्रकृति प्रेमको सबैभन्दा ठूलो स्रोत हो । हावा, पानी, घाम, रुख, माटो, जन्तुहरूको अस्तित्वमा कुनै स्वार्थ छैन । मानव जातिका लागि प्राण दिने पृथ्वी सबैको साझा हो । साझा सोच नै यथार्थमा प्रेम हो । व्यक्तिवादी, मान्छेवादी, पार्टीवादी, देशवादी आदिआदि हुनु प्रणयको विपरीत हो ।

मानिस यदि साँच्चिकै प्रेमिल हुने हो, अरुको अस्तित्व स्वीकार्ने हो, अरु भई बाँच्दा म के हुन्थेँ भनेर सोच्ने हो भने संसार यति क्रुर बन्दैनथ्यो । देश–देश लड्दैनथे भने दर्दहरू बढ्दैनथे, दीनदुःखीहरू थपिँदैनथे । शासनमा  बसेकाले म संयोगले शासक बनेको छु, यदि संयोग हुँदैनथ्यो भने म पनि त्यस्तै दुःख पाउने थिएँ, त्यसैले मेरो कर्तव्य हो प्रेमको भाषा बोल्ने, प्रेमिल व्यवहार गर्ने भन्ने सोच्नुपर्छ । शासक पद त म्यादी न हो । म्याद गुज्रेका दिन अपमानजनक जीवनमा झर्नुभन्दा म्याद नसकिँदै सबैलाई न्यायपूर्ण व्यवहार गरेको राम्रो ।

असल शासकले युद्ध हैन, प्रेम दिवस मनाउँछ । न्यायलाई देखावटी बनाउँदैन । राज्यलाई सबैको बनाउँछ । चिडियाखानामा बाँच्नेको त सम्मान गर्नुपर्छ भने मान्छेलाई भोकभोकै, शोकशोकै राख्न पाइन्छ र ? परिवार र पार्टीलाई मात्र प्रेम गर्ने नेताले परिवारको दायरा फराकिलो रूपमा सोच्नुपर्छ । राज्यको कार्यकारी प्रमुख भइसकेपछि अब परिवार भन्नु नै देश हो । सारा देशवासीको अभिभावक हुँ, मैले सबैलाई बरोबर र बराबर प्रेम गर्नुपर्छ भन्ने सोच्नुपर्छ । बराबर हैन, कमजोर सदस्यलाई अझ बढ्ता राम्रो गर्नुपर्छ । जसलाई प्रेमशास्त्रमा समतामूलक व्यवहार भनिन्छ । 

सबैखाले हिंसाको अन्त गरौँ । हिंसाको लगातार विरोध गरिरहनु पनि अर्काे हिंसा हो । हिंसाको मूल कारकमा नछिरी हिंसा अन्त्य हुँदैन । सुख, शान्ति र समृद्धिका लागि पहिला विभेदको अन्त्य हुनुपर्छ । तपाईं देशप्रेमी, स्वप्रेमी, प्रेमप्रेमी हुनुअघि पहिला न्यायप्रेमी हुनुहोस् । न्यायपूर्ण समाज मात्र प्रेमपूर्ण हुन्छ । 

प्रेम अनुभूति हो, सेक्स अनुभव । प्रेम आत्मिक हुन्छ, सेक्स कायिक । हर सेक्समा प्रेम हुनुपर्छ । सम्भोग भनेको बराबर भोग्ने हो । यातना हुन्छ भने त्यो प्रेम होइन, अपराध हो ।

मन मिलेको खण्डमा तन मिलाउनुस् । यसमा कसैको आपत्ति हुनुहुँदैन । उमेर पुगेका नागरिक कुण्ठित हुनु हुँदैन । कुण्ठाले अपराध जन्माउँछ । अरुलाई डिस्टर्ब नहुने गरी आफ्ना कर्म गर्नुहोस् । अरुलाई डिस्टर्ब नहोस् भन्नेमा सचेत हुनेले आफूलाई र आफ्नो पार्टनरलाई पनि डिस्टर्ब नहोस् भन्ने त सोच्नैपर्छ । 
विपरीत लिंगीबीच जसरी प्रेम हुन्छ । विपरीत जात, विपरीत धर्म, विपरीत सबथोक बीच पनि प्रेम हुन सकोस् । घृणा लोप होस्, प्रेम लोकप्रिय होस् ।
सबैलाई शुभकामना ।


Author

थप समाचार
x