सम्पादकीय

सम्पादकीय

भीआईपीहरू नै गरिबीको रेखामुनि छन् भने आम नागरिक कहाँ छन् ?

इकागज |
चैत १, २०७९ बुधवार १८:४६ बजे

आज चैत १ गते । चैत–वैशाखलाई वसन्त ऋतु भनिएको छ । अनि वसन्त ऋतुलाई ‘ऋतुराज’ पनि भनिएको छ । ‘राजा’ भनेको सबैभन्दा महान्, सुन्दर, भव्य, उच्च, आकर्षक भन्ने अर्थमा वसन्तलाई पनि ‘राजा’ भनिएको होला । 

वसन्तलाई सुखद अर्थमा अर्थ्याइन्छ । गीत नै छ, ‘वसन्त नआई जीवनमा तिम्रो वर्षात् आयो कि ?’


वसन्त अर्थात् नयाँ पालुवा पलाउने याम । शिशिरले उजाड भएका पहरामा हरियाली बढ्ने याम । विक्रमाब्द नयाँ वर्ष यही ऋतुमा पर्ने । नयाँ वर्षले नयाँ आशा र अठोट सञ्चार गर्ने याम । प्रकृति होस् वा प्रेम, वसन्त आउनु भनेको गज्जपको अनुभूति हो । अनि, यही ऋतुले नेपालमा राजनीतिक क्रान्तिको पनि उभार ल्याएको उदाहरण भएको हुँदा यो ऋतु सुखद छ । प्रकृतिशास्त्रमा मात्र हैन, नेपालको राजनीतिशास्त्रमा पनि यसको विशेष महत्व छ । 

तर, वसन्त ऋतु सधैँ सुखद् नहुने रहेछ । जस्तो कि— यो वर्षको वसन्त । 

यो वसन्तमा कुनै उत्साह छैन । नयाँ उमंग छैन । नयाँ आशा र सपना छैन । हर क्षेत्रमा निराशा र हतासा छाएको छ । पालुवाभन्दा बढी धुवाँ पलाएको छ । हरियालीभन्दा बढी निराशा छाएको छ । 

मूल रुपमा देशको राजनीति सही नीतिमा चलेको छैन । आम मानिसको सुख–दुःखभन्दा राजनीति धेरै पर, धेरै नै पर छ । राजनीतिको केन्द्रमा तमाम आम करदाता र मतदाता हुनुपर्ने हो तर छन्— कमिसनदाता, चन्दादाता, घुसदाता । 

नेपालका नेताहरूले राजनीति किन गरिरहेका छन् ? उनीहरू कसको स्वार्थ सिद्ध गर्न सिद्धहस्त छन् ? राजनीति गर्नुको आदर्श के हो ? यस्ता प्रश्न न सोधिएका छन्, न ती नेताहरू जवाफ नै दिन्छन् । जवाफ नदिए पनि न उनीहरू सोच्छन् नै । 

राजनीति गलत बाटोमा भएपछि अरु नीति सही बाटोमा हुनै सक्दैन । राजनीति चालक हो भने अरु सबै नीति उही चालकको सवारीभित्र यात्रारत यात्रु । अनि यात्रुहरू फरक गन्तव्यमा पुग्न सम्भव नै छैन । राजनीतिको सवारी जुन दिशामा छ, यात्रुहरू पुग्ने फरक दिशामा हुँदै होइन । नेपालको राजनीति कहिल्यै सही दिशामा छैन, यो दुर्गन्धित दिसामा छ । 

यदाकदा जे जस्ता उपलब्धि देखिन्छन्, ती अपवाद हुन् । निजी प्राक्टिस मात्र हुन् । सन्दुक रुइत वा महावीर पुनका उपलब्धिमा राज्य सहयोगी पनि छैन । 

युवाहरू विदेशिएका छन् । स्वदेशमा रोजगारी र उद्यमको वातावरण छैन । गाउँघर मात्र किन, सहरमै बूढाबूढी र केटाकेटी मात्र छन् । काम गर्न सक्ने सक्रिय उमेरका युवा निर्यात गर्ने नीति लिएको देश कहीँ उँभो लागेको छैन । 

खेतबारी बाँझै छन् । बोटबिरुवाका शिशु उमार्ने अथाह शक्ति भएको माटोमा ‘बाँझोपन’ बढेको छ । अनेक रासायनिक मल र पदार्थ अनि औषधिले माटोको प्रजनन शक्ति नष्ट पारिएको छ । महँगो शिक्षा र स्वास्थ्यकै डरले यो देश बसिनसक्नुभएको छ । जनताको करबाट चल्ने शिक्षा र स्वास्थ्य संस्था दलहरूको अतिक्रमणले टाक्सिएका छन् ।

सार्वजनिक शिक्षा र स्वास्थ्यलाई निकम्मा बनाएर, यिनमा लगानी घटाएर कसरी आउँछ समाजवाद ? शिक्षा र स्वास्थ्य क्षेत्र निजीलाई दिने राज्य राज्य नै होइन । समाजवादउन्मुख राज्य भन्नु त शतप्रतिशत धोका, झुट र बकवास मात्र हो । जुन राज्यमा पढ्न र उपचार गर्न लाख–करोड रुपैयाँ तिर्नुपर्छ, त्यो राज्यलाई कुनै पनि किसिमको कर उठाउने अधिकार छैन । उठाएको कर सार्वजनिक शिक्षा र स्वास्थ्य बलियो बनाउन सबैभन्दा बढी खर्च गर्नुपर्ने हो, भइरहेको छ ठीक उल्टो ।

गरिखाने वर्गलाई दुःखमाथि दर्द थपिएको छ । महँगीले सीमा नाघेको छ । खाद्यवस्तु अचाक्ली महँगो हुँदा खानै नपाई मर्ने अवस्था आइसकेको छ । गरिबको जागिर र उद्यम, स्वरोजगारी र सहकारी गुमेको छ । राज्यको केन्द्रमा निरपेक्ष गरिबीको रेखामुनि रहेका नागरिक छैनन् । आर्थिक सहायता र सहयोग गरिबलाई गर्ने कि पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, पूर्वसचिवलाई गर्ने ? 

कुनै पनि देशका पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, पूर्वसचिव अर्थात् सबै पूर्वविशिष्टहरू निरपेक्ष गरिबीको रेखामुनि छन् भने तमाम आम नागरिक कहाँ छन् ? नागरिक धनी छन् ? त्यही भएर खाईनपाई खुरुखुरु तिरो तिरेका हुन् ? आफूले तिरेको तिरो आफ्नो शिक्षा र स्वास्थ्यमा खर्च हुँदैन र भीआईपीहरूको भरणपोषणमा मात्र खर्च हुन्छ भने त्यहाँ अर्काे एउटा वसन्तक्रान्ति सन्नीकट छ । वसन्तक्रान्तिलाई तीव्र यात्राको हार्दिक शुभकामना । 
 


Author

थप समाचार
x